चीनका अवार्ड विजेता ६ फिल्म काठमाडौंमा प्रदर्शन हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

चीनका अवार्ड विजेता ६ फिल्म काठमाडौंमा प्रदर्शन हुने



काठमाडौं । विभिन्न संस्करणको बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ठ ठहर भएका चिनियाँ चलचित्रहरू नेपालमा प्रदर्शन हुने भएका छन् । बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रवर्द्धन कार्यक्रम ‘टियानतान अवार्ड प्यानोरामा‘ अन्तर्गत रहेर आगामी जुन २ देखि ४ सम्म ६ अवार्ड विजेता चिनियाँ फिल्म काठमाडौंमा देखाइने भएको हो ।

चीन चलचित्र प्रशासन र बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानसँग सहकार्य गरेर फिल्म प्रदर्शजन गर्ने तय भएको हो । यसका लागि काठमाडौंस्थित चिनियाँ सास्कृतिक केन्द्रसहित त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र लुम्बिनी बुद्धिस्टका कन्फुसियस इन्स्टिच्युटहरूको पनि सहयोग रहेको छ।

ठमेलस्थित छायाँ सेन्टरमा ६ वटै फिल्महरू सशुल्क प्रदर्शन गरिने व्यवस्थापक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ । चिनियाँ चलचित्र उद्योगसँग नेपाली चलचित्रकर्मीको सम्बन्ध विस्तार हुने उद्देश्यका साथ आफूहरू जोडिएको प्रतिष्ठानका अध्यक्ष केपी पाठकले बताए ।

अध्यक्ष पाठकले भने, ‘चिनियाँहरू नेपाली बजारमा आकर्षित भइरहेको पाइन्छ । जसका कारण नेपाली चलाचित्रकर्मीहरूलाई चीन भ्रमण गराउने तथा चीनमा नेपाली चलचित्रको महोत्सव गराउने कार्यमा चिनियाँ सहयोग बढ्न थालेको छ । हामीले पनि चिनियाँ चलचित्रहरूलाई नेपाली दर्शकमाझ प्रदर्शनमा सहकार्य गरेर दुई देशका चलचित्रकर्मीबीच सम्बन्ध विस्तार होस् भन्ने पक्षमा केन्द्रित छौं । नेपाली चलचित्र चीनको ठूलो बजारमा प्रवेश गर्ने माध्यम यस्तै कार्यक्रमहरू उपयुक्त अवसर बन्न सक्छन् भन्ने ठानेर बिगत लामो समयदेखि हामी अभियानमा छौं र त्यो समय नजिक आयो भन्ने हामीलाई लागेको छ।’

जेष्ठ १९ मा प्रदर्शन हुने फिल्म

कार्यक्रमको पहिलो दिन तीन फिल्म देखाइने तालिका रहेको छ । बिहान साढे ११ बजे सुरु हुने यस कार्यक्रम मा पहिलो फिल्म ट्रयाप् प्रदर्सन हुने छ जुन सन् १९९५ मा चीनमा बन्दुक प्रतिबन्ध हुनुभन्दा एक वर्षअघि जेलबाट भागेको एक गुण्डाले सहरमा बिताण्डा मच्चाएको कथामा आधारित छन् ।

क्राइम थ्रिलर जनरामा बनेको यस फिल्मको निर्देशक सागर झाङ हुन् । यसले बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट पटकथा र सह(अभिनेताको अवार्ड जितेको थियो । निर्देसक झाङ्ग को दर्सक संग प्रश्नोत्तर पनि हुने जनाइएको छ।

दिउँसो ३ बजे प्रदर्शन सुरु हुने झिहाई लिउद्वारा निर्देशित फिल्म ‘बियोन्ड द स्काइज’ युद्धको कथामा बनेको फिल्म हो ।

बेलुको ५ बजेबाट प्रदर्शन हुने फिल्म ‘समर डायरी’ का निर्देशक वु शुआङ हुन् । आमाको खोजीमा निस्किएका एक पात्रको यात्रामा यो फिल्म बनेको छ ।

अन्य चलचित्र (जेष्ठ २०-२१)

रुई कुई र सियाङ लिउ निर्देशित फिल्म ‘लस्ट इन द स्टार’ प्रदर्शन हुने तालिका छ । यो फिल्म गर्भवती महिला हराएको रहस्यमी घटनामा आधारित छ ।

’द स्याडोलेस टावर’ झाङ लु निर्देशित यस फिल्म प्रेम कथामा आधारीत छ । दाशाङ कोङ निर्देशित साइन्स फिक्सन फिल्म ‘जर्नी टु द वेस्ट’ प्रदर्शन हुनेछ । एलियनको खोजीको कथामा बनेको यो फिल्म ब्यङ्ग्यात्मक वृत्तचित्र शैलीमा बनेको छ ।

प्रकाशित : 29 May, 2026 4:22 pm