काठमाडौं । राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायले सेयर बजारमा ठूला लगानीकर्ता बाहिरिने जोखिम बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
सोमबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै उनले सरकारकै कारण सिर्जित त्रासले ठूला लगानीकर्ताहरू बजारबाट बाहिरिन सक्ने अवस्था बनेको बताए । यस्तो अवस्था रोक्न सरकारले तुरुन्तै विशेष कदम चाल्नुपर्ने उनको धारणा थियो ।
अहिलेको त्रासपूर्ण वातावरणले ठूला व्यवसायीहरू बजारबाट बाहिरिने खतरा बढेको उको भनाइ छ ।
रोकायले पछिल्लो समय सेयर बजारमा देखिएको गिरावटका कारण लगानीकर्ताबीच नकारात्मक धारणा बढ्दै गएको उल्लेख गरे । नयाँ सरकारप्रति उद्योगी–व्यवसायीमा देखिएको प्रारम्भिक उत्साह सरकारी कदमका कारण कमजोर बनेको उनको भनाइ थियो ।
सेयर बजारमा करिब ३ खर्ब रुपैयाँ बराबरको लगानी घटिसकेको उनले बताए । स्टक ब्रोकर एशोसिएशनको भनाइ उद्धृत गर्दै उनले सरकारी ‘एक्शन’ का कारण पुँजी बजार अब उकालो लाग्दैन भन्ने नकारात्मक सन्देश फैलिएको र त्यसकै प्रभावस्वरूप नेप्से मा लगातार उच्च अंकको गिरावट देखिएको उल्लेख गरे ।






Comment