महँगी ६.३७ प्रतिशत पुग्यो, मधेसमा सबैभन्दा बढी मूल्यवृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थतन्त्र

महँगी ६.३७ प्रतिशत पुग्यो, मधेसमा सबैभन्दा बढी मूल्यवृद्धि

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपालमा महँगी बढ्ने क्रम तीव्र बनेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३७ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १.४७ प्रतिशत मात्रै थियो।

चालु आर्थिक वर्षको पहिलो तीन महिनाको औसत उपभोक्ता मुद्रास्फीति पनि बढेर ६.२२ प्रतिशत पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो दर १.६७ प्रतिशत रहेको थियो।

राष्ट्र बैंकका अनुसार समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ र गैरखाद्य तथा सेवा दुवै समूहको मुद्रास्फीति बढेको छ। गत आर्थिक वर्षको असोजमा २.५४ प्रतिशत ऋणात्मक रहेको खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति यस वर्ष बढेर ८.०४ प्रतिशत पुगेको छ। यस्तै, गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८० प्रतिशतबाट बढेर ५.४६ प्रतिशत पुगेको छ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत सबैभन्दा बढी घिउ तथा तेलको मूल्य बढेको छ। समीक्षा अवधिमा घिउ तथा तेल उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १६.४४ प्रतिशतले बढेको छ। फलफूलको मूल्य १५.४६ प्रतिशत, चिनी तथा चिनीजन्य पदार्थको ११.८४ प्रतिशत, माछा तथा मासुको ८.९१ प्रतिशत, मरमसलाको ७.७१ प्रतिशत र तरकारीको ७.२८ प्रतिशतले वृद्धि भएको छ।

गैरखाद्य तथा सेवा समूहमा यातायात उपसमूहको मूल्य सूचकांक सबैभन्दा बढी १२.९७ प्रतिशतले बढेको छ। यसैगरी मदिराजन्य पेय पदार्थको ८.८३ प्रतिशत, कपडा तथा जुत्ताचप्पलको ७.०६ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ६.०१ प्रतिशत र सुर्तीजन्य पदार्थको ५.४५ प्रतिशतले मूल्य वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।

क्षेत्रगत आधारमा सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा मूल्यवृद्धि बढी देखिएको छ। समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ६.६३ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको यस्तो सूचकांक ६.२८ प्रतिशतले वृद्धि भएको छ।

प्रदेशगत रूपमा हेर्दा मधेस प्रदेशमा सबैभन्दा बढी ७.३७ प्रतिशत मुद्रास्फीति देखिएको छ। सुदूरपश्चिम प्रदेशमा भने सबैभन्दा कम ५.१३ प्रतिशत रहेको छ। यस्तै, काठमाडौं उपत्यकामा ५.९२ प्रतिशत, तराईमा ६.८८ प्रतिशत, पहाडमा ६.१४ प्रतिशत र हिमालमा ५.५७ प्रतिशत मुद्रास्फीति रहेको छ।

उपभोक्ता मुद्रास्फीतिसँगै थोक मुद्रास्फीति पनि बढेको छ। गत आर्थिक वर्षको असोजमा १.३२ प्रतिशत रहेको वार्षिक विन्दुगत थोक मुद्रास्फीति चालु आर्थिक वर्षको असोजमा बढेर ७.२९ प्रतिशत पुगेको छ।

समीक्षा महिनामा उपभोग्य वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति २.८७ प्रतिशत रहेको छ। मध्यवर्ती वस्तुको यस्तो मुद्रास्फीति ९.९८ प्रतिशत र पूँजीगत वस्तुको ६.५६ प्रतिशत रहेको राष्ट्र बैंकको विवरणमा उल्लेख छ। यसैगरी निर्माण सामग्रीको थोक मूल्य सूचकांक ५.९३ प्रतिशतले बढेको छ।

भारतको तुलनामा पनि नेपालमा उपभोक्ता मुद्रास्फीति बढी देखिएको छ। २०८३ असोजमा नेपालमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३७ प्रतिशत रहँदा सन् २०२६ अक्टोबरमा भारतमा यस्तो दर ६.०९ प्रतिशत रहेको छ।

प्रकाशित : ३ मंसिर २०८३, बिहिबार १८:४८ 19 November, 2026 6:48 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।