काठमाडौं । इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा लक्ष्मण थापा नियुक्त भएका छन् । आइएमई हस्पिटालिटीको सञ्चालक समितिले थापालाई चैत ५ गतेदेखि लागू हुनेगरी सीइओमा नियुक्त गरेको हो ।
आतिथ्य व्यवस्थापन क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव रहेका थापाले नेपालसहित भानुआतु, माल्दिभ्स, मलेसिया, संयुक्त अरब इमिरेट्स र साउदी अरबका विभिन्न होटल, रिसोर्ट तथा क्यासिनोमा नेतृत्वदायी भूमिकामा काम गरिसकेका छन् ।
आइएमई हस्पिटालिटीमा आउनुअघि उनी सिद्धार्थ हस्पिटालिटी समूहमा प्रमुख सञ्चालन अधिकृत (सीओओ)का रूपमा कार्यरत थिए । यसअघि काठमाडौँको होटल याक एण्ड यति, भानुआतुस्थित इरिरिकी आइल्यान्ड रिसोर्ट एण्ड ज्वेल क्यासिनो, चितवनस्थित सिजी हस्पिटालिटी तथा भैरहवास्थित टाइगर प्यालेस रिसोर्टमा पनि उनले नेतृत्वदायी जिम्मेवारी सम्हालेका थिए ।
आइएमई हस्पिटालिटीले काठमाडौँको लाजिम्पाटस्थित होटल ले हिमालय, पोखराको लेकसाइड रिट्रिट तथा बागलुङ र गैँडाकोटस्थित होटल इलालगायत विभिन्न होटल तथा रिसोर्टको व्यवस्थापन गर्दै आएको छ । नियुक्तिपछि थापाले सेवा गुणस्तर अभिवृद्धि र होटल नेटवर्क विस्तारमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।






Comment