स्थिरीकरण कोषमा योगदान गरेका ३२४ मध्ये २५ सहकारीले सहभागिताको प्रमाणपत्र प्राप्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

स्थिरीकरण कोषमा योगदान गरेका ३२४ मध्ये २५ सहकारीले सहभागिताको प्रमाणपत्र प्राप्त



काठमाडाैं । स्थिरीकरण कोषमा योगदान गरेका ३२४ सहकारी संस्थामध्ये आवश्यक मापदण्ड पूरा गर्ने २५ सहकारी संस्थाले सहभागिताको प्रमाणपत्र प्राप्त गरेका छन्। कोषको चौथो वार्षिक परामर्श बैठकको अवसरमा ती सहकारी संस्थालाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको हो।

नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत तथा कोषका सदस्य–सचिव डा. शिवजी सापकोटाका अनुसार, कोषमा योगदान गर्ने कुल ३२४ सहकारीमध्ये हालसम्म २५ संस्थाले तोकिएका मापदण्ड पूरा गरेकाले प्रमाणपत्र प्रदान गरिएको हो। आवश्यक मापदण्ड पूरा गर्ने अन्य संस्थालाई पनि क्रमशः सहभागिताको प्रमाणपत्र प्रदान गरिँदै जाने उनले जानकारी दिए।

अन्य देशहरूमा जोखिमको स्तरअनुसार यस्ता कोषमा बढी रकम जम्मा गर्न कानुनी व्यवस्था रहेको उल्लेख गर्दै डा. सापकोटाले सहकारी ऐन २०७४ ले कोषको व्यवस्था र परिचालनका विषयमा सीमित व्यवस्था गरेको बताए। उनका अनुसार गत वर्ष कार्यविधि संशोधन भएपछि मात्र कोषको परिचालन, सहकारी संघ–संस्थाको नियमन, अनुगमन तथा प्रवर्द्धनका लागि केही मार्ग प्रशस्त भएको हो।

सहकारी अभियानको छवि संरक्षणका लागि स्थिरीकरण कोष आवश्यक रहेको उल्लेख गर्दै उनले कोषलाई अझ व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए। सहभागिताको प्रमाणपत्र प्राप्त गरेका संस्थाले मात्र तरलता सापटी, दायित्व भुक्तानी सापटी तथा पुनःसञ्चालन खर्चका लागि सापटी सुविधा पाउने व्यवस्था रहेको उनले बताए।

सहभागिताको प्रमाणपत्र प्राप्त गर्न सहकारी संस्थाले कम्तीमा पाँच आर्थिक वर्षदेखि सञ्चालनमा रही वार्षिक लेखापरीक्षण सम्पन्न गरेको, अघिल्ला दुई वर्षमा वार्षिक साधारण सभा समयमै सम्पन्न गरेको, कर्जा वर्गीकरण तथा आवश्यक कर्जा नोक्सानी व्यवस्था गरेको, कुल सम्पत्तिको न्यूनतम पाँच प्रतिशत संस्थागत पुँजी कायम गरेको, अघिल्ला दुई आर्थिक वर्ष घाटामा नगएको तथा सञ्चित घाटा नभएको, स्वीकृत एकीकृत मापदण्डअनुसार उच्च जोखिममा नरहेको, निवेदन दिँदा नियामक निकायको निगरानी सूची वा शीघ्र सुधार कारबाहीमा नपरेको र सहकारी विभागले स्वीकृत गरेको एकीकृत व्यवस्थापन सूचना प्रणालीमा आबद्ध भएको हुनुपर्ने व्यवस्था छ।

सहभागिताको प्रमाणपत्र प्राप्त गर्ने २५ सहकारी संस्था यस प्रकार छन् :

१. ग्रामिण साकोस, सल्यान
२. ठेचो महिला साकोस, ललितपुर
३. जनउत्थान साकोस, रूपन्देही
४. लोक कल्याणकारी साकोस, चितवन
५. ग्रामीण बाल्मिकी साकोस, नवलपरासी
६. तरकारी फलफुल साकोस, काठमाडौं
७. कल्याणकारी साकोस, ललितपुर
८. कोलिय देवदह साकोस, रूपन्देही
९. चण्डेश्वरी साकोस, काभ्रेपलाञ्चोक
१०. एकीकृत जनभावना साकोस, मोरङ
११. लेकाली स्वावलम्बन साकोस, गुल्मी
१२. शिक्षक कल्याण साकोस, दोलखा
१३. किसान कल्याण साकोस, सुनसरी
१४. विन्धवासिनी साकोस, काभ्रेपलाञ्चोक
१५. प्रगति साकोस, सुनसरी
१६. जनचेतना साकोस, मकवानपुर
१७. जनहितकारी साकोस, सुर्खेत
१८. नवप्रतिभा साकोस, नवलपरासी
१९. नारी संकल्प साकोस, मोरङ
२०. मनकामना साकोस, मोरङ
२१. बछौली नारी चेतना साकोस, चितवन
२२. ज्ञानज्योती महिला साकोस, काठमाडौं
२३. सक्रिय महिला साकोस, मकवानपुर
२४. संगम साकोस, कास्की
२५. स्रोत परिचालन साकोस, धादिङ

प्रकाशित : 21 December, 2025 3:24 pm