नेको सहकारीको नेतृत्व कसले सम्हाल्ला ? आज २३३० सदस्यले फैसला गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेको सहकारीको नेतृत्व कसले सम्हाल्ला ? आज २३३० सदस्यले फैसला गर्दै



काठमाडौं । चिकित्सा शिक्षा क्षेत्रमा एक समय निकै चर्चित बनेको मनमोहन मेडिकल कलेजको विषय फेरि चर्चामा आएको छ। यसपटक भने मेडिकल कलेजको सम्बन्धन विवादका कारण होइन, उक्त परियोजनालाई अघि बढाउने उद्देश्यसहित स्थापना भएको नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड (नेको) को नेतृत्व चयनका कारण चर्चा चुलिएको हो।

राजधानीमा जारी नेकोको २०औँ वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाएको छ। नेतृत्व चयनमा सहमति जुट्न नसकेपछि आइतबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने तय भएको छ। निर्वाचनमा २ हजार ३३० सदस्यले मतदान गर्नेछन्।

यसअघि प्रायः सर्वसम्मत रूपमा नेतृत्व चयन हुँदै आएको नेकोमा यसपटक भने प्रतिस्पर्धा निकै रोचक बनेको छ। अध्यक्षसहित नयाँ कार्यसमिति चयनका लागि तीनवटा समूह चुनावी मैदानमा उत्रिएका छन्।

सहकारीको सुरुवाती चरणदेखि नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्वमुख्यमन्त्री तथा नेकपा नेता राजेन्द्र पाण्डेले अध्यक्ष पदमा दाबी गर्दै आफ्नो समूह प्रस्तुत गरेका छन्। त्यस्तै इन्जिनियर गम्भीरलाल श्रेष्ठ र शिव सिम्खडाले पनि छुट्टाछुट्टै प्यानलसहित नेतृत्वका लागि प्रतिस्पर्धा गरिरहेका छन्।

हालका अध्यक्ष डा. बंशीधर मिश्रले भने सहमतिका आधारमा नेतृत्व चयन भए आफू तयार रहने तर चुनावी प्रतिस्पर्धामा नउत्रिने सार्वजनिक घोषणा गर्दै निर्वाचन प्रक्रियाबाट अलग भएका छन्।

एक समय आर्थिक संकटका कारण समस्यामा परेको नेको पछिल्ला वर्षहरूमा पुनः सुधारको बाटोमा अघि बढिरहेको बताइन्छ। संस्थाको नाममा अहिले अर्बौं रुपैयाँ बराबरका चल तथा अचल सम्पत्ति रहेको सहकारी स्रोतहरू बताउँछन्।

निर्वाचनमा सहभागी तीनै समूहले लामो समयदेखि रोकिएको मनमोहन मेडिकल कलेजको सम्बन्धनको विषयलाई पुनः अघि बढाउने प्रतिबद्धता जनाएका छन्। चिकित्सा शिक्षा ऐन लागू भएपछि रोकिएको उक्त परियोजनालाई पुनर्जीवित गर्ने एजेन्डा नै यसपटकको चुनावी प्रतिस्पर्धाको मुख्य विषय बनेको सदस्यहरू बताउँछन्।

वि.सं. २०६२ मा स्थापना भएको नेको सहकारी ‘सबैका लागि अस्पताल’ भन्ने नारासहित सञ्चालनमा आएको गैरनाफामूलक संस्था हो। संस्थाले मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालसहित विभिन्न स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ।

स्वयम्भूस्थित मनमोहन अस्पताल हाल व्यवस्थापन सम्झौतामार्फत अन्य संस्थाबाट सञ्चालन भइरहेको छ भने दहचोकमा शैक्षिक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। नयाँ नेतृत्व चयनसँगै संस्थाले लामो समयदेखि रोकिएको मेडिकल कलेज परियोजनालाई कसरी अघि बढाउँछ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।

प्रकाशित : 14 June, 2026 2:48 pm