काठमाडौं। स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदका परिवारका सदस्यलाई रोजगारी दिने घोषणा गरेको छ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा एशोसिएसनका अध्यक्ष सागर ढकालले आन्दोलनमा मृत्यु भएका प्रत्येक सहिद परिवारबाट एक–एक जनालाई एशोसिएसनअन्तर्गतका सदस्य संस्थामा रोजगारी उपलब्ध गराइने जानकारी दिए।
एशोसिएसनले कार्तिक ९ गते ३२ औं स्थापना दिवस मनाउने तयारी गरिरहेको छ। सो अवसरलाई लक्ष्य गर्दै उक्त घोषणा गरिएको हो।
हाल एशोसिएसनअन्तर्गत ९० वटा धितोपत्र दलाल व्यवसायी र २ वटा धितोपत्र व्यापारी कम्पनीहरू नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त छन्। ती कम्पनीहरूबाट ७१ लाखभन्दा बढी लगानीकर्तालाई धितोपत्र खरिद–बिक्री तथा डिपोजिटरी सेवा प्रदान गरिएको एशोसिएसनले जनाएको छ।





Comment