२०५८ सालको एक साधारण दिनमा, वीरेन्द्रनगरका केही अग्रजहरूबीच एउटा साझा सपना पलायो-समुदायमा वित्तीय पहुँच पुगोस्, व्यक्तिको मेहनतले आर्थिक रूप लिन सकोस् र गरिबी चिर्न सहकार्यको बाटो तय होस्। यही सपना बोकेर २७ जना अग्रजहरूको पहलमा स्थापना भयो – वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेड।
आज, त्यो प्रारम्भिक बीउले सघन बिरुवा बनिसकेको छ – २३ हजार ६५९ सदस्यहरूको साझा घर बनिसकेको छ। संस्था अब २५औँ वर्षमा प्रवेश गरिरहेको छ ।
साझा सपना, साझा उपलब्धि
“सहकारी भनेको केवल आर्थिक कारोबार होइन, समुदायप्रतिको जिम्मेवारी पनि हो,” संस्थाका प्रमुख कार्यकारी अधिकृत छत्र बहादुर थापा भन्छन्। संस्थाको स्थापना बेला सदस्यहरूको मुख्य सरोकार थियो । छरिएर रहेको पूँजीलाई एकीकृत गरी आर्थिक सुरक्षाको भरपर्दो माध्यम खडा गर्नु। तर समयसँगै संस्था मात्र होइन, यसको उद्देश्य, दायरा र दायित्व पनि विस्तार हुँदै गयो।
थापा भन्छन्, “शुरुमा हाम्रो ध्येय आर्थिक सशक्तीकरण मात्र थियो। अहिले हामी सामाजिक न्याय, सांस्कृतिक सशक्तीकरण र वित्तीय समावेशीतासम्म आइपुगेका छौं।”
सहकारीले सुर्खेत जिल्लाभर आफ्नो सेवा विस्तार गरिसकेको छ। संस्थाले महिला, पुरुष र संस्थागत सदस्यहरू गरी २३ हजार ६५९ शेयर सदस्यको साथ पाइरहेको छ।
बचत र ऋणभन्दा धेरै: सेवामा विविधता र मानवता
सामान्यतः बचत र ऋणलाई सहकारीको मुख्य आधार मानिन्छ, तर वीरेन्द्रनगर साकोसले त्यसलाई सामाजिक सेवाको दायरामा विस्तारित गरिसकेको छ।
युवाका लागि उद्यमशीलता विकास
युवा सदस्यहरूलाई सशक्त बनाउन सहकारीले स्वरोजगार र उद्यमशीलताको बाटो देखाइरहेको छ। व्यावसायिक ऋणमा छुट ब्याजदर, सीपमूलक तालिम, र नवप्रवर्तनशील उद्यममा प्रोत्साहन प्रदान गरिन्छ। “स्वरोजगार आत्मनिर्भरता हो,” थापा जोड दिन्छन्।
सामाजिक उत्तरदायित्वमा गहिरो प्रतिबद्धता
रक्तदान, सरसफाइ, स्वास्थ्य शिविर, सडक सूचना बोर्ड, पर्यावरण संरक्षण — यस्ता धेरै कार्यक्रमहरू सहकारीले वार्षिक रूपमा गर्दै आएको छ। थापा भन्छन्, “सहकारी संस्था भनेको समाजकै अभिन्न अंग हो। हाम्रो सामाजिक भूमिका केवल वैकल्पिक होइन, अनिवार्य हो।”
सदस्य सम्मान र सामाजिक सुरक्षा
सदस्यहरूको जन्मदेखि मृत्युसम्म सहकार्य गर्ने उद्देश्यले ‘आपसी सदस्य सहयोग कोष’ संचालनमा ल्याइएको छ। सुत्केरी पोषण खर्च, बालसदस्य जन्मोत्सव, मृत्यु राहत, बीमा कार्यक्रम जस्ता विविध योजना संस्थाले सञ्चालन गरिरहेको छ।
संस्थागत सुशासन र पारदर्शिता: विश्वसनीयताको आधार
वीरेन्द्रनगर साकोसले सुशासनलाई आफ्नो परिचय बनाइसकेको छ। २४ आन्तरिक कार्यविधिहरू, १ निर्देशिका र ३ आचारसंहिताहरू लागू गरेर संस्था कानुनी रूपमै पारदर्शी, उत्तरदायी र जिम्मेवार बनाइएको छ।
“हामीले पारदर्शिता केवल नारा होइन, व्यवहारको संस्कार बनाएका छौं,” प्रमुख कार्यकारी अधिकृत थापा स्पष्ट रूपमा भन्छन्। लेखा परीक्षण, कर्मचारी छनौट, लेखा सुपरीवेक्षण समिति, साधारण सभा — सबै प्रक्रिया नियमित, स्पष्ट र सदस्यमैत्री रूपमा सञ्चालन भइरहेका छन्।
सदस्यको जीवनस्तरमा देखिएको प्रभाव
सहकारी सेवा मार्फत सदस्यहरूमा वित्तीय अनुशासन मात्र होइन, सामाजिक चेतना र आत्मबल पनि बढेको देखिन्छ। पोषण, बीमा, नागरिकता दस्तावेज, स्वास्थ्य सचेतना लगायतका विषयमा संस्था निरन्तर जनचेतना अभियान सञ्चालन गरिरहेको छ।
जातीय विभेद, बालविवाह, महिला हिंसा, जाँड रक्सी, जुवा र लागुऔषधविरुद्ध सामाजिक सन्देश बोकेको कार्यक्रमहरू संस्थाले सदस्यमार्फत सघन रूपमा अघि सारेको छ।
संघ–संस्थासँग सहकार्य: दिगो भविष्यतर्फको कदम
वीरेन्द्रनगर साकोस नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) सँगको सहकार्यमा “प्रोवेशन कार्यक्रम” मा सहभागी छ। यसको उद्देश्य संस्थालाई सुशासनयुक्त, प्रतिस्पर्धी र सदस्यमैत्री बनाउनु हो।
“सङ्घहरूको मार्गदर्शन र अनुगमन हामीलाई अझ उत्तरदायी र व्यावसायिक बन्न प्रेरणा दिइरहेको छ,” थापा बताउँछन्।
भविष्यको बाटो अझ उज्यालो
२५ वर्षको यात्राले वीरेन्द्रनगर साकोसलाई स्थायीत्व, विश्वसनीयता र सशक्त नेतृत्व दिएको छ। संस्थाले आर्थिक मात्र होइन, सामाजिक रूपान्तरण को दिशामा पनि उदाहरणीय भूमिका निर्वाह गरिरहेको छ।
“हामी केवल संस्था चलाइरहेका छैनौं,” थापा भन्छन्, “हामी सपना सञ्चय गरिरहेका छौं – हजारौं सदस्यका सपना।”





Comment