काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र अहिले समस्यामा रहेको र आर्थिक पुनरुत्थानको निमित्त निजी क्षेत्रको मनोबल बढाउनुपर्ने बताएका छन् । बुधबार महासंघको प्रतिनिधिमण्डले अर्थमन्त्रीसंग गरेको भेटमा उनले अर्थतन्त्र सुधारका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका हुन् ।
ढकालले उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेललाई अहिले आर्थिक निकायबीच समन्वय नभएको र अर्थतन्त्र सुधार गर्न निजी क्षेत्रको सहभागितामा आर्थिक सुधार आयोग वा अन्य कुनै संयन्त्र आवश्यक रहेको बताए ।
ढकालले डेडिकेटेड फिडर र ट्रंक लाइनको समस्या छिट्टै समाधान गर्न पनि मन्त्री पौडेललाई आग्रह गरे । उनले यो समस्याले उद्योगलाई ठूलो असर पारेको र उत्पादनमूलक गतिविधिहरु संकुचित भएको बताए । उद्योगले क्षमताअनुसार चल्न नसकेको उनले बताए ।
ढकालले अर्थतन्त्र संकुचित भएपछि मुलुकमा रोजगारी सिर्जनामा समेत असर परेको बताए । उनले नेपाल राष्ट्र बैंकको तथ्यांकले मुद्रास्फीति ४।१७ प्रतिशतमा झरेको देखाएपनि वास्तविकतामा कोभिड यता ७ प्रतिशतको दरले बढ्दै गएको बताए । जसका कारण जनताको क्रयशक्तिमा ह्रास आएको बताउँदै उनले बजारको माग पनि घटेको
बताए ।
ढकालले मन्त्री पौडेललाई आर्थिक गतिविधि पनि बढ्ने गरी बजारको माग बढाउन मद्दत गर्ने नीति ल्याउन आग्रह गरे । ढकालले मन्त्री पौडेललाई कर्जाको ब्याजदर घटे पनि उद्योगी र उद्यमीले लगानी गर्न नचाहेको बताए । त्यसैले रेमिट्यान्समार्फत देश भित्रिएको पैसा बैंक तथा वित्तीय संस्थामा थुप्रिएको छ । कम ब्याजदर मात्रै लगानीका लागि प्रोत्साहन होइन भन्ने देखाएको उनले बताए ।
ढकालले उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेललाई स्थापित व्यवसायीले मात्रै लगानी नगर्ने, नयाँ उद्यमी पनि लगानी गर्न डराइरहेको बताए । यो विगतमा हामीले अपनाएका गलत नीतिको परिणाम हो भनी जानकारी गराए । ढकालले नीतिगत सुधार गरेर लगानीमैत्री वातावरण बनाउन मन्त्री पौडेललाई आग्रह गरे ।
Comment