रसुवा बाढी अपडेट : रसुवागढी भन्सारका प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

रसुवा बाढी अपडेट : रसुवागढी भन्सारका प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी



काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासकसहित २६ जना कर्मचारी सम्पर्कमा आएका छन् भने १४ जनाको खोजी तथा उद्धार कार्य जारी रहेको छ। कार्यालयका अनुसार ३६ जना स्थायी दरबन्दी रहेका कर्मचारीमध्ये प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा आइसकेका छन् । बाँकी ११ जना स्थायी कर्मचारी अझै सम्पर्कमा आउन नसकेकाले उनीहरूको खोजी भइरहेको छ ।

त्यस्तै, कार्यालयमा कार्यरत ४ जना करार तथा ज्यालादारी कर्मचारीमध्ये १ जना सम्पर्कमा आएका छन् भने बाँकी ३ जनाको अवस्था अज्ञात रहेको छ । हाल सम्पर्कविहीन रहेका कुल १४ जना (११ स्थायी र ३ करार/ज्यालादारी) कर्मचारीहरूको खोजी तथा उद्धारका लागि सुरक्षा निकाय र स्थानीय प्रशासनसँग निरन्तर समन्वय भइरहेको छ ।

यस्तै, नेपाली सेनाले बाढपीडितको उद्धार धमाधम भइरहेको जनाएको छ । नेपाली सेनाका अनुसार हालसम्म १२ जनाको उद्धार भइसकेको छ । नेपाली सेनाका अनुसार सेनाको हेलिकप्टरमार्फत स्याफ्रुबेँसीबाट ६ र मैलुङबाट २ र धुन्चेबाट ४ गरी हालसम्म १२ जनाको उद्धार भइसकेको छ ।

उक्त इलाकामा नेपाली सेनाका चार र निजी कम्पनीका आठ गरी जम्मा १२ वटा हेलिकोप्टर उद्धार कार्यमा खटिएका छन् । यसका साथै नेपाली सेनाको मेडिकल टिमद्वारा त्रिशूलीस्थित नं.१ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको पनि नेपाली सेनाले जनाएको छ ।

प्रकाशित : 26 August, 2026 1:46 pm