रसुवाको बाढीमा ३०० भन्दा बढी ईभी बगे, अटो बजारमा ठूलो धक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

रसुवाको बाढीमा ३०० भन्दा बढी ईभी बगे, अटो बजारमा ठूलो धक्का



काठमाडौं । चीनबाट नेपालतर्फ ल्याइँदै गरिएका ३०० भन्दा बढी विद्युतीय गाडी (ईभी) रसुवाको टिमुरेमा बुधबार बिहान आएको आकस्मिक बाढीमा बगेका छन्। बाढीले रसुवा भन्सार कार्यालयको यार्ड ध्वस्त पार्दा भन्सार जाँचपासको पर्खाइमा रहेका ठूलो संख्याका सवारी बाढीको चपेटामा परेका हुन्।

रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाका अनुसार यार्डमा पार्क गरिएका तथा नाका क्षेत्रमा रहेका गरी ३०० भन्दा बढी गाडी बाढीमा परेका छन्।

उनका अनुसार भन्सार प्रक्रिया पूरा गरी काठमाडौं ल्याउने तयारीमा रहेका करिब ३०० वटा ईभी बाढीमा परेका छन्। बाढीले भन्सार यार्ड नै बगाएपछि ती गाडीको अवस्था तत्काल यकिन गर्न नसकिएको ढुङ्गानाले कान्तिपुरसँगको कुराकानीमा भने ।

हालै सम्पन्न ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’, जारी ‘नाडा अटो शो २०२६’ तथा आगामी दसैँको बजारलाई लक्षित गर्दै अटो व्यवसायीले चीनबाट ठूलो संख्यामा विद्युतीय गाडी आयात गरिरहेका थिए। भन्सार प्रक्रिया पूरा गरी काठमाडौं भित्र्याउने तयारीमा रहेका गाडी बाढीमा परेपछि आयातकर्ता तथा समग्र अटो बजारमा ठूलो असर पर्ने देखिएको छ।

अकस्मात आएको बाढीका कारण भन्सार संरचनासमेत क्षतिग्रस्त भएकाले गाडी जोगाउन नसकिएको भन्सार कार्यालयले जनाएको छ। बाढीका कारण क्षति भएका वा हराएका विद्युतीय गाडीको वास्तविक संख्या तथा त्यसबाट भएको कुल आर्थिक क्षतिको विवरण संकलन भइरहेको सम्बन्धित निकायले जनाएको छ।

बाढीले भन्सार यार्डसहित त्यहाँ रहेका सवारीसाधनमा ठूलो क्षति पुर्‍याएपछि आयातकर्ताको लगानी, बीमा तथा भन्सार प्रक्रियासँग सम्बन्धित विषयसमेत थप जटिल बन्ने देखिएको छ। क्षतिको यकिन विवरण आएपछि बाढीबाट अटो व्यवसायमा परेको वास्तविक असर स्पष्ट हुने अपेक्षा गरिएको छ।

प्रकाशित : 26 August, 2026 5:10 pm