घरधन्दाबाट उद्यमशीलताको सोचसम्म
बैतडीकी कल्पना रानाको जीवन केही वर्षअघि सम्म धेरै नेपाली महिलाको जस्तै थियो। घरको काम, परिवारको जिम्मेवारी र सीमित आम्दानीबीच दिन बित्थ्यो। उनका श्रीमान् गाडी चालक हुनुहुन्थ्यो र परिवारको मुख्य आम्दानी त्यहीबाट आउँथ्यो। सुरुमा श्रीमान्–श्रीमती मात्रै हुँदा घर खर्च चलाउन धेरै गाह्रो थिएन। तर परिवार बढ्दै जाँदा जिम्मेवारी पनि बढ्दै गयो। छोराछोरीको पढाइ, स्वास्थ्य र दैनिक आवश्यकताहरू पूरा गर्न आम्दानी पर्याप्त हुन छोडेको थियो। त्यसबेला कल्पनालाई महसुस भयो कि परिवारलाई राम्रो भविष्य दिन आफूले पनि केही गर्नुपर्छ।
उनीभित्र सानैदेखि केही आफ्नै काम गर्ने इच्छा थियो। यही सोचले उनलाई काठमाडौंसम्म पुर्यायो। उनले त्यहाँ गएर ब्युटी पार्लर सम्बन्धी तालिम लिइन्। तालिम सकेर गाउँ फर्किंदा उनीसँग सीप त थियो, तर व्यवसाय सुरु गर्न आवश्यक पैसा थिएन।
सहकारीसँग जोडिएको नयाँ सम्भावना
त्यही बेला उनले बैतडीको जगन्नाथ महिला बचत तथा ऋण सहकारी संस्थाको बारेमा थाहा पाइन्। वि.सं. २०७१/७२ तिर उनी सहकारीमा सदस्य बनिन्। सहकारीको नियम अनुसार सुरुमा नियमित बचत गर्नुपथ्र्यो र त्यसपछि मात्रै ऋण लिन पाइन्थ्यो। उनले धैर्यताका साथ बचत गर्न थालिन्।

सुरुमा सहकारीबाट उनले केवल पाँच हजार रुपैयाँ ऋण पाइन्। त्यो रकमले ठूलो काम गर्न सकिँदैनथ्यो, तर त्यसले उनलाई अगाडि बढ्ने आत्मविश्वास दियो। एक वर्षपछि सहकारीले उनलाई ५० हजार रुपैयाँ ऋण उपलब्ध गरायो। यही ५० हजार रुपैयाँ उनको जीवनको सबैभन्दा महत्वपूर्ण मोड बन्यो।
५० हजारबाट सुरु भएको उद्यम
त्यो पैसाले उनले एउटा सानो कस्मेटिक पसल र ब्युटी पार्लर सुरु गरिन्। त्यतिबेला बैतडीमा महिलाहरूले व्यवसाय सञ्चालन गर्ने चलन धेरै कम थियो। महिलाले पसल खोलेर व्यापार गर्नु धेरैका लागि अनौठो विषय थियो। कतिपयले उनको प्रयासलाई शंकाको दृष्टिले पनि हेरे। तर कल्पना पछि हटिनन्। उनले आफूले सिकेको सीपलाई व्यवहारमा उतारिन् र प्रत्येक ग्राहकलाई राम्रो सेवा दिने प्रयास गरिन्।
सुरुका दिन सजिला थिएनन्। ग्राहक कम थिए, आम्दानी पनि धेरै हुँदैनथ्यो। कहिलेकाहीँ आफूले गरेको निर्णय सही हो कि होइन भन्ने प्रश्न पनि मनमा उठ्थ्यो। तर उनले धैर्य गुमाइनन्। बिस्तारै उनको कामको चर्चा फैलिन थाल्यो। गाउँका महिलाहरू पार्लर आउन थाले। कस्मेटिक सामानको बिक्री बढ्न थाल्यो। आम्दानी पनि विस्तारै बढ्दै गयो।’
संघर्षबाट सफलतासम्म
उनले कमाएको पैसा फेरि व्यवसायमै लगानी गर्न थालिन्। समयसँगै सानो पसल विस्तार भयो, सेवाहरू थपिए र व्यवसायले गति लिन थाल्यो। आज उनको व्यवसायमा ९ देखि १० लाख रुपैयाँसम्मको लगानी पुगिसकेको छ। एक समय ५० हजार रुपैयाँ जुटाउन संघर्ष गर्नुपरेकी महिला अहिले लाखौं रुपैयाँको व्यवसाय सञ्चालन गरिरहेकी छन्।

व्यवसायले उनको आर्थिक अवस्था मात्र परिवर्तन गरेन, जीवनप्रतिको दृष्टिकोण पनि बदलिदियो। अहिले उनको मासिक आम्दानी करिब ५० देखि ६० हजार रुपैयाँसम्म पुग्छ। पार्लर र तालिमबाट मुख्य आम्दानी हुन्छ भने पसलबाट मात्रै पनि मासिक १० देखि १५ हजार रुपैयाँ आम्दानी हुने गरेको छ। यही आम्दानीका कारण उनले आफ्ना छोराछोरीलाई काठमाडौंमा पढाउन सफल भएकी छन्। एक समय खर्च धान्न संघर्ष गर्ने परिवार अहिले छोराछोरीको भविष्यका लागि योजना बनाउन सक्ने अवस्थामा पुगेको छ।
आर्थिक आत्मनिर्भरताले दिएको आत्मविश्वास
आर्थिक रूपमा सक्षम बन्दै जाँदा घरभित्र उनको भूमिका पनि बदलियो। पहिले आर्थिक निर्णयमा उनको सहभागिता सीमित थियो। अहिले भने उनी आफैं निर्णय लिन सक्ने अवस्थामा पुगेकी छन्। व्यवसायका विषयमा होस् वा घरायसी आवश्यकताका विषयमा, उनी आत्मविश्वासका साथ निर्णय गर्छिन्। उनका अनुसार अहिले उनी निर्णय गरेर श्रीमान्लाई जानकारी दिने अवस्थामा पुगेकी छन्। आर्थिक आत्मनिर्भरताले उनलाई केवल पैसा मात्र दिएको छैन, आत्मविश्वास र सम्मान पनि दिएको छ।
छाउपडीको पीडादेखि चेतनाको उज्यालोसम्म
कल्पनाको जीवनमा आएको परिवर्तन आर्थिक क्षेत्रमा मात्र सीमित छैन। उनले सामाजिक परिवर्तन पनि नजिकबाट अनुभव गरेकी छन्। सुदूरपश्चिमका धेरै महिलाजस्तै उनले पनि छाउपडी प्रथाको पीडा भोगेकी छन्। महिनावारी हुँदा छुट्टै बस्नुपर्ने, छुट्टै भाँडा प्रयोग गर्नुपर्ने र विभिन्न प्रतिबन्ध सहनुपर्ने अवस्था उनले पनि भोगिन्। उनी सम्झिन्छिन्, महिनावारी भएका बेला पाँचवटा भाँडा छुट्टै राख्नुपथ्र्यो र धेरै नियम पालना गर्नुपथ्र्यो।
तर शिक्षा, चेतना र आर्थिक आत्मनिर्भरतासँगै परिस्थितिहरू बदलिन थाले। आज उनी आफ्नै घरको कोठामा सहज रूपमा बस्न सक्छिन्। महिनावारीलाई अशुद्धता होइन, प्राकृतिक प्रक्रिया भनेर बुझ्ने वातावरण बनेको छ। उनी यो परिवर्तनलाई आफ्नो जीवनको महत्वपूर्ण उपलब्धिमध्ये एक मान्छिन्।
डिजिटल युगका नयाँ चुनौती
यद्यपि, सफलता प्राप्त गरेपछि पनि चुनौतीहरू समाप्त भएका छैनन्। पछिल्लो समय डिजिटल प्रविधिको विस्तारले उनको व्यवसायलाई नयाँ चुनौती दिएको छ। धेरै मानिसहरू अहिले अनलाइनबाट सामान किन्छन्। युट्युबमा भिडियो हेरेर घरमै सौन्दर्यसम्बन्धी सेवा गर्न थालेका छन्। यसले स्थानीय पार्लर र पसलहरूको व्यापारमा असर पारेको छ। कल्पनाले पनि यो परिवर्तन महसुस गरेकी छन्। तर उनी चुनौतीबाट डराएकी छैनन्। बरु समयसँगै आफूलाई परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बुझेर अगाडि बढिरहेकी छन्।
आफू मात्र होइन, अरूका लागि पनि प्रेरणा
अहिले उनी केवल पार्लर सञ्चालनमा सीमित छैनन्। विभिन्न पालिकाहरूमा गएर महिलाहरूलाई तालिम दिने काम पनि गरिरहेकी छन्। उनले सिकेको सीप अरू महिलासम्म पुर्याइरहेकी छिन्। उनको विश्वास छ, एउटा महिलाले सीप र अवसर पाएपछि आफ्नो जीवन आफैं बदल्न सक्छ।
परिवर्तनको आधार बनेको सहकारी
कल्पनाको यो यात्राको पछाडि सहकारीको भूमिका निकै महत्वपूर्ण छ। जगन्नाथ महिला बचत तथा ऋण सहकारी संस्था २०५४ सालमा स्थानीय महिलाहरूको पहलमा स्थापना भएको थियो। अहिले पनि संस्थामा महिलाहरू मात्र सदस्य छन् र नेतृत्व पनि महिलाहरूले नै गरिरहेका छन्। सहकारीले महिलाहरूलाई सानो–सानो बचत गर्न सिकाउने, व्यवसायका लागि ऋण उपलब्ध गराउने र आर्थिक गतिविधिमा सहभागी गराउने काम गर्दै आएको छ।
संस्थाका अनुसार हालसम्म ३७८ जना महिला सदस्यलाई कुल २ करोड ७६ लाख रुपैयाँ ऋण प्रवाह गरिएको छ। कृषि र व्यापार क्षेत्रमा सबैभन्दा बढी लगानी गरिएको छ। संस्थाकी व्यवस्थापक दुर्गा ठकुन्नाका अनुसार लगानी गरिएका व्यवसायहरूमध्ये करिब ९० प्रतिशत सफल छन्। महिलाहरूले ऋणलाई वास्तविक उद्देश्यका लागि प्रयोग गर्ने भएकाले सफलताको दर पनि उच्च रहेको उनी बताउँछिन्।
सहकारीले ऋण मात्र दिँदैन। सुत्केरी भएका सदस्यलाई पोषण भत्ता, वृद्ध सदस्यलाई उपचार सहयोग तथा सदस्यको मृत्यु भएमा परिवारलाई आर्थिक सहयोगसमेत प्रदान गर्ने गरेको छ। यसले सहकारीलाई वित्तीय संस्था मात्र नभई सामाजिक सुरक्षाको आधार पनि बनाएको छ।
महिला सशक्तीकरणमा सहकारीको योगदान
महिला उद्यमी महासंघकी अध्यक्ष दर्शना श्रेष्ठ का अनुसार महिलाहरूका लागि वित्तीय पहुँच अझै पनि चुनौतीपूर्ण विषय हो। धेरै महिलासँग बैंकले माग गर्ने धितो, आम्दानीको प्रमाण वा अन्य कागजात हुँदैनन्। यस्तो अवस्थामा सहकारी नै उनीहरूको सबैभन्दा भरपर्दो साथी बन्छ। सहकारीमार्फत महिलाहरूले बचत गर्छन्, ऋण लिन्छन्, व्यवसाय सुरु गर्छन् र आर्थिक रूपमा सक्षम बन्छन्।
नेपालमा अहिले करिब ३६ हजार सहकारी संस्था दर्ता छन्। झण्डै एक करोड मानिस सहकारीमा आबद्ध छन्। तीमध्ये ५६ प्रतिशत महिला सदस्य छन्। साना किसान सहकारीहरूमा त महिलाको सहभागिता ८० प्रतिशतसम्म पुगेको छ। यसले महिलाको आर्थिक सशक्तीकरणमा सहकारी आन्दोलनले कति ठूलो भूमिका खेलेको छ भन्ने स्पष्ट देखाउँछ।
ऋणभन्दा ठूलो थियो विश्वास
कल्पना रानाको कथा एउटा व्यक्तिको सफलता मात्र होइन। यो अवसर पाएपछि महिलाले आफ्नो जीवन कसरी बदल्न सक्छन् भन्ने ज्वलन्त उदाहरण हो। एक समय घरको खर्च व्यवस्थापनमै संघर्ष गरिरहेकी महिला आज सफल व्यवसायी बनेकी छन्। उनले आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिएकी छन्, आफ्नो आत्मविश्वास बढाएकी छन् र समाजमा रहेको छाउपडी जस्तो कुप्रथालाई चुनौती दिने साहस पनि हासिल गरेकी छन्।
सबैभन्दा प्रेरणादायी कुरा के हो भने उनले सुरु गर्दा आफू एक्लैजस्तै थिइन्। आज भने उनको वरिपरि धेरै महिलाहरू व्यवसाय गरिरहेका छन्, पसल सञ्चालन गरिरहेका छन् र आत्मनिर्भर बन्ने प्रयास गरिरहेका छन्। त्यो परिवर्तन देख्दा उनलाई गर्व लाग्छ।
कल्पनाको यात्राले सफलताको सुरुवात सधैं ठूलो पूँजीबाट हुँदैन। कहिलेकाहीँ एउटा सानो अवसर, थोरै विश्वास र मेहनतले पनि जीवनको दिशा बदल्न सक्छ भन्ने एउटा महत्वपूर्ण सन्देश दिन्छ। बैतडीकी कल्पना रानाका लागि त्यो अवसर ५० हजार रुपैयाँको ऋण थियो। तर वास्तवमा त्यो ऋणभन्दा ठूलो कुरा आफूमाथिको विश्वास थियो। त्यही विश्वासले उनलाई सामान्य गृहिणीबाट सफल महिला उद्यमी बनाएको छ।






Comment