काठमाडौं । नव नियुक्त अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र आफ्नो राजनीतिक लाइन मिल्ने तथ्य उजागर गरिदिएका छन् । पदभार सम्हालेपछि मन्त्रालयको सभाहलमा आयोजित औपचारिक स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले गभर्नरसँग आफ्नो राजनीतिक लाइन मिल्ने तथ्य उजागर गरिदिएका हुन् ।
‘बजारमा नेपाल राष्ट्र बैंकका गभर्नर र मेरो राजनीतिक लाइन मिल्ने भन्ने गरिएको छ, त्यो कुरा सत्य हो हाम्रो लाइन मिल्छ नै । फेरि राम्रो कामका लागि गभर्नर र अर्थमन्त्री मिल्नु पनि पर्छ, हामी मिलेर काम गर्छौ’, अर्थमन्त्री पौडेलले भने ।
उनले वित्त नीतिलाई सहयोग पुग्ने गरि मौद्रिक नीति आउने दृढता पनि सुनाए । ‘गभर्नरज्यू र मेरो राजनीतिक लाइनमा पनि मिल्छ, अहिले मौद्रिक नीतिको तयारी भैरहेको छ, वित्त नीतिलाई सहयोग पुग्ने गरि नयाँ मौद्रिक नीति आउँछ भन्ने मेरो विश्वास छ’, मन्त्री पौडेलले भने ।
उनले अर्थमन्त्री र गभर्नरको बिचमा राम्रो समन्वय हुनेवित्तिकै बजारमा सकारात्मक सन्देश जाने पनि बताए । ‘हामी मिलेर अघि बढ्दा बजारमा पनि मनोबल बढ्छ, हामी मिलेरै अघि बढ्छौं’, मन्त्री पौडेलले भने ।
यस अघि पदभार ग्रहण गर्दै मन्त्री पौडेलले आगामी आर्थिक बर्षको बजेटलाई खासै नचलाउने संकेत गरेका थिए । उनले राम्रो काम गर्नका लागि बजेटहरु बाधक नहुने बताउँदै बजेटलाई नयाँ आवश्यकता अनुसार बनाउनका लागि पनि कानुनले ठाउँ दिएको पनि बताएका थिए ।
Comment