एफएनसीसीआई र कतार चेम्बरबीच ‘नेपाल-कतार संयुक्त वाणिज्य परिषद्’ स्थापना गर्ने सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

एफएनसीसीआई र कतार चेम्बरबीच ‘नेपाल-कतार संयुक्त वाणिज्य परिषद्’ स्थापना गर्ने सम्झौता



काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त वाणिज्य परिषद् स्थापना भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले नेतृत्व गर्ने परिषद स्थापनाका लागि बुधबार दुवै चेम्बरबीच सम्झौता भएको हो ।

कतारका अमीर शेख तमीम विन हमाद अल थानी र नेपालका प्रधानमन्त्री पुष्प कमल दाहालको उपस्थितिमा महासंघ अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष शेख खलिफा बिन जसिम अल थानी ले उक्त सम्झौतामा हस्ताक्षर गरे । परिषदले व्यापार विस्तार, लगानी प्रवद्र्धन, प्रविधि हस्तान्तरण, पर्यटन प्रवद्र्धनका क्षेत्रमा काम गर्नेछ ।

तिव्र आर्थिक वृद्धि भैरहेको खाडी मुलुक कतारसँग सम्वादका लागि परिषद् स्थायी संयन्त्र बनेको छ । संयुक्त वाणिज्य परिषद्को उदेश्य कतार र नेपालका निजी क्षेत्रबीच सहकार्य र समझदारी बढाउनु हो ।

नेपालीहरुको कामको गन्तव्यका रुपमा चिनिदै आएको कतारको लगानी आकर्षित गर्न र व्यापार विस्तार गर्न परिषदले प्रभावकारी भूमिका खेल्नेछ । खाडी मुलुकमा कृषिजन्य उत्पादन, पानी, जडिवुटि, मसला र मसलाजन्य वस्तु लगायतको अत्यधिक माग छ । तिव्र आर्थिक विस्तारका कारण कतार लगानी गन्तव्यका रुपमा रहेको हुँदा नेपालमा लगानी आकर्षित गर्न परिषदले प्रभावकारी भूमिका निर्वाह गर्नेछ । यसैगरि पर्यटन प्रवद्र्धनका क्षेत्रमा पनि परिषदले काम गर्नेछ ।

परिषद स्थापनापछि दुई चेम्बरबीचको सहकार्य थप प्रगाढ भएको र यसले लगानी र व्यापार विस्तारमा सहयोग पुग्ने दुवै अध्यक्षले धारणा राखेका छन् ।

‘यस सम्झौताले अगामी दिनमा सहकार्यालाई थप बढाउनेछ,’ कतार चेम्बरका अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले भने। यसैगरि महासंघ अध्यक्ष ढकालले परिषदमार्फत थप सहकार्यका लागि थप काम गरिने बताए ।

‘कतारको तीव्र आर्थिक बिकासबाट फाइदा लिन परिषदले निरन्तर काम गर्नेछ,’ महासंघका अध्यक्ष ढकालले भने । यसैगरि महासंघ अध्यक्ष ढकालले परिषदको स्थापना पछि नेपालको जल विद्युत, पर्यटन पूर्वाधार, सूचना प्रविधि र कृषि प्रशोधनका क्षेत्रमा लगानी बढाउन सहज हुने बताए ।

यसैगरि महासंघ र कतार चेम्बरबीचको समझदारी पनि नविकरण भएको छ । नयाँ समझदारीपत्रमा महासंघ अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले हस्ताक्षर गरे ।

उक्त सम्झौता पनि कतारका अमीर शेख तमीम विन हमाद अल थानी र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा नै भएको हो । महासंघ र कतार चेम्बरबीच सन् २००५ मा पहिलोपटक समझदारी भएको हो । त्यसयता दुई चेम्बरले लगानी र व्यापार प्रवद्र्धनमा विविध सहकार्य गर्दै आइरहेका छन् ।

प्रकाशित : १२ बैशाख २०८१, बुधबार १२:४९