‘बायोमेट्रिक परिचयपत्रको अनुपस्थितिमा डिजिटाइजेसन धेरै अगाडि बढ्दा जोखिम हुनसक्छ’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

‘बायोमेट्रिक परिचयपत्रको अनुपस्थितिमा डिजिटाइजेसन धेरै अगाडि बढ्दा जोखिम हुनसक्छ’



ट्रान्सपरेन्सी इन्टरनेसनलको सन् २०२२ को प्रतिवेदनअनुसार नेपालले करप्सन परसेप्सन इन्डेक्स (सीपीआई)मा जम्मा ३४ अंक प्राप्त गर्यो । तुलनात्मक रुपमा ५० भन्दा कम अंक ल्याउनेहरू बढी भ्रष्ट मुलुकमा गनिन्छन् । हामी पारदर्शी छैनौं भन्ने यसले प्रष्ट देखाउँछ । डिजिटल अर्थतन्त्रले पारदर्शितामा जोड दिन्छ ।

विश्वभरको अर्थतन्त्रमा डिजिटलाइजेसनको लहर आइरहेको छ । नेपाल त्यसको अपवाद बन्न सक्दैन र हुदैन पनि । तर त्यसका लागि अत्यावश्यक डिजिटल सार्वजनिक पूर्वाधारहरू(डीपीआई) को विकास गर्नु जरुरी छ । हामीले डिजिटल पेमेन्ट र डिजिटल बैंकिङको मात्रै कुरा गरेर पुग्दैन । समग्र अर्थतन्त्रको डिजिटलाइजेसनका लागि डिजिटल इकोसिस्टम बन्नु जरुरी छ । यिनै विषयलाई सम्बोधन गर्न नेपाल सरकारले सन् २०१९ मा डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनमा ल्याएको थियो । उक्त फ्रेमवर्कमा समग्र नेपालका आठवटा मुख्य क्षेत्रमा ८० वटा पहल (इनिसिएटिभ्स) मार्फत डिजिटाइज गर्न सकिन्छ भन्ने अवधारणा ल्याइएको थियो ।

उपयुक्त आठवटा क्षेत्रमध्ये डिजिटल फाउन्डेसन अर्थात् डिजिटल पूर्वाधारलाई पहिलो क्षेत्र हो भनी औल्याइएको छ । डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर अर्थात् डीपीआई पनि यही हो । अहिले संसारभर डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरको लहर बढेर गएको छ । डिजिटल नेपालफ्रेमवर्कमा रहेका ८० पहलमा डिजिटल फाउन्डेसनअन्तर्गत १९ वटा इनिसिएटिभ्सहरूरहेकाछन् । तीमध्ये अत्यन्तै महत्व राख्ने विषयहरू यस्ता छन् :
– इन्टरनेटलाई आधारभूत सेवाको रुपमा स्थापना गर्ने,
– फाइभजी नेटवर्कको विकास गर्ने,
– अप्टिकल फाइवर नेटवर्कको निर्माण गर्ने,
– प्रभावकारी सार्वजनिक सेवा प्रवाहको लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटीको विस्तार गर्ने,
– विशेष आर्थिक क्षेत्र (सेज) मा सूचना प्रविधि ज्ञानपार्क निर्माण गर्ने,
– कागजरहित सरकारको अवधारणालाई साकार रुप दिने,
– राष्ट्रिय साइवर सुरक्षा केन्द्र स्थापना गर्ने,
– प्रादेशिक डाटा सेन्टर स्थापना गर्ने,
– डिजिटल हस्ताक्षरको कार्यान्वयन गर्ने,
– राष्ट्रिय परिचयपत्र(बायोमेट्रिक जडित राष्ट्रिय परिचयपत्र) लागू गराउने ।
नेपाललाई डिजिटल अर्थतन्त्रमा रुपान्तरण गर्ने विषयमा नेपालका नीति निर्माताहरूउपयुक्त डिजिटल फाउन्डेसनबारेगम्भीर रुपले लाग्न अब ढिला भइसकेको छ । डिजिटल फाउन्डेसन अर्थात् डीपीआईलाई नीति निर्माताहरूबीच व्यापक छलफलमा ल्याउन जरुरी छ । मुलुक १६औं योजनाको संघारमा छ, यो बेलामा नीति निर्माताहरू रणनीतिक महत्व राख्ने रुपान्तरणकारी योजनामा डीपीआईलाई प्राथमिकतामा राखिनु पर्दछ । अब पनि पुरानै ढर्राका योजनाले नेपालको विकास सम्भव छैन ।

बायोमेट्रिक जडित राष्ट्रिय परिचयपत्र
डिजिटल बैंकिङ, डिजिटल भुक्तानी प्रणालीमात्र होइन, समग्र अर्थतन्त्रलाई डिजिटाइज गर्नका लागि बायोमेट्रिक जडित राष्ट्रिय परिचयपत्रलाई महत्वपूर्ण औजारको रुपमा लिइन्छ । यो नागरिकको वैयक्तिक विवरणसहितको परिचयपत्रमात्र नभई नागरिकको जैविक विवरणसहितको राष्ट्रिय परिचयपत्र हो । अहिलेनेपालमानागरिक पहिचानका लागि नागरिकताको प्रमाणपत्रप्रयोग भइरहेको छ । तर हामी यो कुरामा स्पष्ट भइसकेका छौं कि हामीले अहिले प्रचलनमा ल्याइरहेको नागरिकता प्रमाणपत्रले व्यक्तिको सही पहिचान गर्न सकिँदैन । किनकिउस्तै नाम गरेकाव्यक्तिहरूहाम्रो समाजमा एकभन्दा बढी हुनसक्ने अवस्था रहन्छ नै । हजुरबुवाको नाम, बाबुको नामलगायत एउटै हुनेमात्र होइन कि जन्मस्थलसमेत एउटै हुने एकभन्दा बढी व्यक्तिहरू हाम्रो समाजमा हुन्छन् । नागरिकता प्रमाणपत्रले नागरिकको विवरणहरूको विद्युतीय अभिलेख, प्रशोधन एवं आवश्यकताअनुसार पुनप्र्रयोगको सुविधा दिन सकिरहेको छैन ।
यस्ता प्रमाणपत्रको कारण फर्जी नागरिकता प्रयोग हुने, नागरिकता प्रमाणपत्रको फोटोकपी गरेर दुरुपयोगसमेत भएका थुप्रै घटनाहरू बाहिरिरहेका छन् । कसैले अरुकै नागरिकता बोकेर आउँदा पनि वैज्ञानिक ढंगले निक्र्यौल गर्न सकिने विशेषता नागरिकतामा छैन, तत्कालै सोही व्यक्तिको कागजात यथार्थ हो या होइन भनेर जैविक तवरले जाँच्ने कुनै आधारहुँदैन । भर्खरको किशोर अवस्थामै खिचिएको फोटो नागरिकतामा टाँसिन्छ, मानिस वृद्ध अवस्थामा पुगिसक्दा पुरानो फोटो र उपस्थित व्यक्तिका बीचमा धेरै भिन्नता आइसकेको हुन्छ तापनि विश्वास गर्नुपर्ने अवस्था छ । त्यसैले व्यक्तिको सही पहिचान अब जैविक परिचयपत्रमार्फत् गरिनुपर्दछ । आँखाको रेटिना, मुखाकृति, औंलाका छापहरूको आधारमा पहिचान गरिनु नागरिकको जैविक परिचय हो । यही प्रयोजनलाई मूर्तरुप दिन नेपाल सरकारले गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको स्थापना गरेको छ । सबै उमेर पुगेका नागरिकलाई बायोमेट्रिक जडित राष्ट्रिय परिचयपत्र प्रदान गर्ने लक्ष्य यसले लिएको छ । यसको शुभारम्भ आ.व.२०६६/०६७ को बजेटमा गरिएको थियो ।
गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको स्थापनासमेत भइसकेको छ । यही विभागमार्फत् नेपाल सरकारले नेपाली नागरिकका वैयक्तिक र जैविक विवरणसहितको विवरण संकलन तथा भण्डारण गरी बायोमेट्रिक परिचयपत्र वितरण गर्ने योजना बनाएको छ । यो जैविक राष्ट्रिय परिचयपत्रअन्तर्गतअहिलेसम्म १ करोड ३० लाखभन्दा बढी नागरिकको फोटो खिचिसकिएको छ । नागरिकका वैयक्तिक र बायोमेट्रिक सूचनाहरूत्यसमा समेटिएको छ । वैयक्तिक सूचनाअन्तर्गत व्यक्तिको नाम, वतन, पारिवारिक विवरणलगायतवैयक्तिक सूचनार बायोमेट्रिक सूचनाअन्तर्गत आँखाको रेटिना, हातका दशओटा औंलाको छापलाई आधुनिक बायोमेट्रिक प्रविधिमा पहिचान गरेर राख्ने काम भएको छ । राष्ट्रिय परिचयपत्रका आधारमा अब व्यक्तिको पहिचान उसको नामले होइन बायोमेट्रिकका आधारमा व्यक्तिलाई परिचय गर्न सकिने व्यवस्था हुँदैछ । समयक्रमसँगै यतिका धेरै नागरिकलाई राष्ट्रिय परिचयपत्रमा समावेश गरिसकिएको अवस्थामा अब यसलाई प्रयोगमा ल्याउनुपर्दछ भन्ने हाम्रो भनाइ हो । अर्थतन्त्रका विभिन्न क्षेत्रमा यसको प्रयोग बढाउन सक्नुपर्दछ । अहिले राहदानी(पासपोर्ट) लिनेक्रममा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको छ । अब भुक्तानी प्रणाली, बैंकिङ प्रणालीमा पनि राष्ट्रिय परिचयपत्र नम्बरलाई लागू गर्न राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरू, गृह मन्त्रालयअन्तर्गतको पञ्जीकरण विभागलगायत सरोकार निकायले एक किसिमको सम्झौता नै गरेर अगाडि बढ्नुपर्दछ ।
बायोमेट्रिक परिचयपत्रको अनुपस्थितिमा डिजिटाइजेसन धेरै अगाडि बढ्दा जोखिम हुनसक्छ
अहिले नेपालमा २७ वटा वालेट कम्पनीहरू छन् । हामीसँग करिब दुई करोडको हाराहारीमा रजिष्टर्ड वालेट एकाउण्ट छन् । वालेट कम्पनीले नागरिकलाई केही कानुनी कागजातको आधारमा वालेट प्रयोगकर्ताका रुपमा दर्ता गर्दछन् । वालेट कम्पनीले नेपालका दूरसञ्चार सेवा प्रदायक संस्थाहरूले जारी गरेका सीम नम्बरका आधारमा वालेट सञ्चालन गर्न दिइरहेका छन् । पछिल्लो समय नेपालमा वालेटमार्फत्प्रतिमहिना २०/२५ अर्ब रुपैयाँ बराबरको कारोबार हुने गरेको छ । कुनैपनि व्यक्तिले केही थान कागजात उपलब्ध गराएकै आधारमा मोबाइल सीम नम्बर प्राप्त गरिरहेका छन् त्यही सीम धारकलाई केही कागजातका आधारमा वालेट एकाउन्ट खोल्न सकिने व्यवस्था छ । त्यसो त नेपाल राष्ट्र बैंकले पर्याप्तमात्रामा केवाईसीसम्बन्धी विवरणहरू लिनुपर्ने, त्यस्ता केवाईसीको भेरिफिकेसन गर्नुपर्ने, कारोबारको विवरण व्यवस्थित गर्न थुप्रै नियमनका व्यवस्था गरेको छ तर सार्वजनिक डिजिटल पूर्वाधारको अभावमा सानो पूँजीमा खोलिएका यी वालेट कम्पनीहरूले न त प्रविधिमा ठूलो खर्च गर्न सक्छन् न त त्यति ठूलो एक्सपर्टिज नै राख्छन् ।सामान्य अवस्थामा व्यक्ति पहिचानसमेत गर्न नसकिने नागरिकतालगायत कागजात पेश गरेर लिइएका सीम कार्ड र त्यसैको आधारमा उपलब्ध गराइएका वालेट खाताले यो जोखिम थेग्न निकै सकस परेको छ । यदि बायोमेट्रिक राष्ट्रिय परिचयपत्रलाई प्रयोग गर्न सकेको भए मोबाइल सीम पनि वास्तविक व्यक्तिले पाउँथ्यो र त्यही व्यक्तिलाई वालेट खोल्न दिन सकिने अवस्था रहन्थ्यो । यस्तो हुना साथ सबै विवरणहरू बायोमेट्रिक परिचयपत्रमा एकीकृत हुन पुग्दथे । जसको मोबाइल सीम उसैको वालेट हुनेमा ढुक्क हुन सकिन्थ्यो । । तसर्थ विद्युतीय भुक्तानीलाई जोखिमरहित बनाउन पनि बायोमेट्रिक जडित परिचयपत्रको कार्यान्वयन अब ढिला भइसकेको छ ।
सार्वजनिक डिजिटल पूर्वाधारमा भारतको अब्बल अभ्यास
धेरै देशले अर्थतन्त्रका सबैजसो क्षेत्रमा बायोमेट्रिक जडित परिचयपत्रलाई अन्तरआबद्धता गरेर आफ्नो प्रणालीलाई पारदर्शी बनाएका छन् । यसको बहुआयमिक पक्षबारे बुझ्न धेरै टाढा जानुपर्दैन । छिमेकी राष्ट्र भारतले अवलम्बन गरेको १२ अंकको आधारनम्बरलाई लिन सकिन्छ । भारतले आफ्ना सबै नागरिकलाई आधार नम्बर निःशुल्क दिने व्यवस्था मिलाएको छ । पछिल्लो आँकडाअनुसार भारतमा करिब १ अर्ब ४० करोड आधार नम्बर वितरण भइसकेको छ । भारतले आधार नम्बरसहितको डीपीआई तयार गरेर अर्थतन्त्रलाई केही हदसम्म डिजिटाइज्ट गर्दा कुल ग्राहस्थ उत्पादनको करिब १.१ प्रतिशत बचत गरेको दृष्टान्त आएका छन् ।
भारतमा अहिले आधारकार्डलाई परिचयपत्रको रुपमा प्रयोग गरी धेरै सेवामा यसलाई जोडिएको छ । योभन्दा अगाडि भारतमा रासनकार्ड प्रयोग हुने गर्दथ्यो । भारतका विभिन्न नागरिकलाई त्यहाँको सरकारले सामाजिक सुरक्षा भत्तालगायत विषयमा अनुदान दिनुपर्दा रासनकार्डको माध्यमबाट दिने गर्दथ्यो । त्यो रासनकार्ड हाम्रो अहिलेको नागरिकता प्रमाणपत्रजस्तै खालको प्रविधिको प्रयोग नगरिएको भौतिक कागजात अर्थात् केही वैयक्तिक विवरणको मात्र थियो । पछि बायोमेट्रिक आधारकार्डले त्यसलाई प्रतिस्थापन गर्दा धेरै फर्जी रासनकार्डहरूपत्ता लागेका थिए । भारतबाट प्रकाशित विभिन्न पत्रपत्रिका र विभिन्न विवरणअनुसार त्यतिबेला २ करोड ९५ लाखभन्दा बढी फर्जी रासन कार्डहरूभेटिएको थियो । यसबाट भारत सरकारले प्रतिवर्ष १७ हजार करोड भारु बराबरको वित्तीय नोक्सानी व्यहोरिरहेको पत्ता लागेको थियो । भारत सरकारले लक्षित वर्गलाई सेवा, सुविधा पु¥याउन सकिरहेको थिएन । किनकि त्यतिबेलात्यहाँ व्यक्ति पहिचानको पर्याप्त वैज्ञानिक र प्रविधियुक्त आधार थिएन । रासनकार्ड प्रयोग गर्दा त्यहाँगम्भीर क्षति भएको र राष्ट्रिय सम्पत्ति एवं स्रोतसाधनको दुरुपयोग भइरहेको थियो । हामीले पनि बेलैमा त्यसबारेमा सोच्नु पर्दछ । नेपालमा बढ्दै गएको सामाजिक सुरक्षा भत्तामा एकातिर दोहोरो लिने समस्या हुनसक्छ भने अर्काे वैज्ञानिक परिचयपत्र नहुँदा नागरिक सेवाबाट वञ्चित हुनसक्ने पनि देखिन्छ । धेरै फर्जी कामहरू भएको पनि हुनसक्दछ । त्यसैले जैविक राष्ट्रिय परिचयपत्रलाई सबै सेवासँग एकीकृत गराउन आवश्यक छ ।
डिजिटाइजेसन गर्न खोज्दा आइपर्ने कठिनाइ
हामीकहाँआ.वा.२०६६/०६७बाट सुरु भएको बायोमेट्रिक परिचयपत्रले किन आजसम्म मूर्तरुप लिन सकेन ?चालू पन्ध्रौं योजना (आ.व.२०७६/७७–२०८०/८१) मा राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रमलाईरुपान्तरणकारी योजना ९न्बmभ ऋजबलनभच एचयनचबm०का रुपमा लिइदासमेत किन यो योजना अवधिभित्रै काम सम्पन्न गर्न सकिएन ?यसबारेमा गहन विश्लेषण हुन जरुरी छ । ट्रान्सपरेन्सी इन्टरनेसनलको सन् २०२२ को प्रतिवेदनअनुसार नेपालले करप्सन परसेप्सन इन्डेक्स (सीपीआई)मा जम्मा ३४ अंकप्राप्त गर्यो । तुलनात्मक रुपमा ५० भन्दा कम अंक ल्याउनेहरू बढी भ्रष्टमुलुकमा गनिन्छन् । हामीले प्राप्त गरेको अंक ३४ भएकाले यसमा बोलिरहनु परेन । हामी पारदर्शी छैनौं भन्ने यसले प्रष्ट देखाउँछ । डिजिटल अर्थतन्त्रले पारदर्शितामाजोड दिन्छ ।पारदर्शिता जहाँ छैन त्यहाँ डिजिटाइजेसन छैन अथवा डिजिटाइज नभएकै आधारमा पनि हामी पारदर्शी छैनौं ।
यसले पनि शीघ्र डिजिटाइज नबन्न मलजल गरिरहेको छ । हामी भन्ने गर्छौं, हाम्रो भूगोल कठिन छ । मुलुकको दुर्गम भूगोलमा अझ पनि गुणस्तरीय इन्टरनेट, विद्युत् आपूर्ति, टेलिफोन सेवा र अन्य सेवाको गुणस्तरीय आपूर्ति छैन । यसो नहुनुमा भूगोललाई दोष दिइन्छ तर आधुनिक प्रविधिले कठिन भूगोललाई सहज बनाइदिन्छ । हामीले माथिल्लो खण्डमा चर्चा गरेजस्तै डिजिटाइजेसनले पारदर्शिता ल्याउने भएकाले नै यो कामअलमलमा परिरहेको छ । सरकारले बनाएको डिजिटल नेपालफ्रे्रेमवर्कअन्तर्गत डिजिटल पूर्वाधारको क्षेत्रमा पनि उपलब्धि हात पर्न सकेको छैन । विश्व बैंकको एक प्रतिवेदनले इन्टरनेटलगायत सुविधामा गरेको १० प्रतिशत खर्च वृद्धिले करिब १.३ प्रतिशतको आर्थिक वृद्धि बढाउँछ भन्ने रहेको छ । तर यहाँ राज्यले डिीजटल पूर्वाधारमा कति खर्च गर्ने भन्ने अहिलेसम्म स्पष्टसँग आउन सकेको छैन ।
डिजिटल इकोनमीले प्रविधियुक्त जनशक्तिको माग गर्दछ । यो क्षेत्रमा आधुनिक प्रविधियुक्त जनशक्तिको खाँचो पर्दछ । तर अहिले देशभित्रका जोसिला र दक्ष युवा बाहिर जाने र गएकाहरू नफर्कने स्थिति देखिएको छ । यो गम्भीर बे्रन ड्रेनको अवस्थामा कसरी डिजिटल इकोसिस्टम तयार गर्न सकिएला ?
ढिलोचाँडो हाम्रो अर्थतन्त्र डिजिटल
अब हामीडिजिटल अर्थतन्त्रमा रुपान्तरण हुनसक्नेधेरै आधारहरू बन्दै गएका छन् । नेपालको जनसंख्याको करिब १५—१७ प्रतिशत मुलुक बाहिर बस्दछन् । बाहिर बस्दाउनीहरूले डिजिटाइजेसनको अभ्यास गरिरहेका छन् । उनीहरूले नेपालमा बसेका आफन्तसँग अनुभव साटासाट गर्छन्। जसले डिजिटाइजेसनलाई सकारात्मक दबाब दिइरहेको हुन्छ । २०७८ को जनगणनाअनुसार ७३ प्रतिशत नेपालीलेस्मार्टफोन प्रयोग गर्ने, ३८ प्रतिशत घरपरिवारले इन्टरनेट सेवाको प्रयोग गर्दै आएका छन् । यो भनिरहँदा निजीक्षेत्रमाएक खालको पूर्वाधार खडा भइरहेकोदेखिन्छ । अर्थतन्त्रमा रेमिट्यान्स प्रमुख विदेशी मुद्रा आर्जनको माध्यम बनेको छ ।
नेपालका करिब५६ प्रतिशत घरपरिवारले रेमिट्यान्स प्राप्त गर्ने तथ्याङ्कले देखाउँछ । अधिकांश नागरिक कुनै न कुनै हिसाबले प्रत्यक्ष वा अप्रत्यक्षरुपमा विदेशमा बस्नेनेपालीसँग जोडिन पुगेका छन् । त्यसैले हामीडिजिटल आबद्धतामा मानसिकरुपमा तयार भइरहेका छौं । अर्काेतिर संसारभर डिजिटल भुक्तानीको बहार आइरहेको छ । कोभिडले त यसको प्रयोगमा युगान्तकारी परिवर्तन नै ल्याइदियो । त्यसैले नेपालमा विस्तारै डिजिटल कारोबारको बढोत्तरी हुँदै गइरहेको छ । नेपाल राष्ट्र बैंक डिजिटल भुक्तानीका पूर्वाधारको विकासमा लागेको छ । नेपालले आफ्नै रिटेल पेमेण्ट स्विच कार्यान्वयनमा ल्याइसकेको छ । ठूलो रकमको कारोबारको राफसाफ गर्न आरटीजीएसको स्थापना भइसकेको छ ।नेसनल पेमेन्ट स्विच र डोमेष्टिक कार्ड स्किम निकट भविष्यमा कार्यान्वयनमा आउँदैैछ । डिजिटल पेमेन्टको सहजीकरणका लागि क्रस बोर्डर इन्ट्रिग्रेसनमा संस्थाहरू लागिरहेका छन् ।
नेपालभित्रै एउटा बैंकबाट अर्काे बैंकमा जतिसुकै पैसा पनि पठाउन सक्ने डिजिटल प्रणालीको विकास भइसकेको छ । सरकारको राजश्व तिर्न, विभिन्न व्यक्तिगत भुक्तानीका लागि गतिलो ई–मनि ट्रान्सफरको इन्फ्रास्ट्रक्चर तयार भइसकेको छ । करिब २ करोड २६ लाख मानिसले मोबाइल बैंकिङमार्फत खाता खोलेर काम गरिरहेका छन् । करिब२ करोडको संख्यामा वालेट प्रयोगकर्ता छन् । १८ लाखको हाराहारीमा इन्टरनेट बैंकिङ प्रयोगकर्ता पुगिसकेका छन् । मासिकरुपमा औसतमा ३० अर्बको क्यूआरकोड स्क्यान कारोबार हुने गरेको छ । नेपाल राष्ट्र बैंकले सेन्ट्रल बैंक डिजिटल करेन्सीको पनि अध्ययन गरिरहेको छ । ई–पेमेन्ट र बैंकिङ क्षेत्रमा डिजिटल पूर्वाधार विकासका पर्याप्त काम भइरहेका छन् । यो सबै कुरालाई हेर्दा केही ढिलो या निकै चाँडो डिजिटल पूर्वाधारको विकास गर्दै डिजिटल युगमा नेपाल प्रवेश गर्दैछ ।
तर हामीले बुझ्नुपर्ने कुरा के छ भने भुक्तानी र बैंकिङ प्रणालीमात्रै डिजिटाइज भएर हुँदैन ।समग्र अर्थतन्त्र नै डिजिटाइज हुनुपर्दछ । त्यसका लागि डिजिटल इकोसिस्टमपूर्वाधार तयार हुनुपर्दछ । यो प्रणाली एक क्षेत्रमा मात्रै जान खोज्दा समस्या पर्न सक्दछ । सबैको सहकार्य आवश्यक छ । पूर्वाधार विकासमात्रले पनि पुग्दैन । कसैले गलत काम गरेमा कडाभन्दा कडा कानुनी कारबाही गर्न सकिने साइबर सेक्युरिटीसम्बन्धी कानुन बन्नुपर्दछ ।

(गुरुप्रसाद पौडेल नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन् । प्रस्तुत लेख, इमान जर्नलबाट साभार गरिएको हो ।)

प्रकाशित : १४ फाल्गुन २०८०, सोमबार ११:४४