काठमाडौं । मनकामना केवुलकार सेवा सुभारम्भको २६ औं वर्ष पूरा गरी २७ औं वर्षमा प्रवेश गरेको छ । २७ वर्षमा प्रवेश गरेको उपलक्ष्मा आगामी वर्षहरूमा अरू स्तरीय सेवा दिने प्रतिवद्धता कम्पनीले जाहेर गरेको छ ।
केवुलकार सञ्चालनमा आएपछि प्रसिद्ध तीर्थस्थल मनकामना साथै यस वरिपरीका क्षेत्र भारत लगायत विश्वभरमा नै एक प्रमुख गन्तब्यका रूपमा स्थापित भैसकेको छ ।
२६ वर्ष पुगिसकेको एनलग प्रविधिको मर्मत सम्भार गर्नुका साथै स्पेयर पार्टस् समेत पाउन कठिनाइ हुने स्थितिलाई मध्यनजर गर्दै डिजिटल प्रणालीमा स्तरोन्नति गरिएको कम्पनीले जनाएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित कुरिनटार (चेरेस)मा प्रवेशद्वार (बटम स्टेसन) रहेको यस केबलकार चढेर गोरखाको शहीद लखन गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न यात्रुहरू जाने गर्छन् ।
मबुलकारको नियमित सञ्चालन पश्चात् मनकामना क्षेत्र र त्यस आसपासका क्षेत्रहरू एक प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको छ । धर्मकर्मदेखि मनोरञ्जन गर्नेसम्मको रोजाई बनेको छ, मनकामना केबलकार ।
त्यस क्षेत्रको व्यापार व्यवसायहरूमा उल्लेख्य वृद्धि भई समुन्नत विकास भई विश्व सामु समेत मनकामनाको प्रचार प्रसार भएको छ ।
केबुलकार अवस्थित चितवनको ईच्छाकामना गाउँपालिका र गोरखाको सहिद लखन गाउँपालिकामा प्रत्येकलाई कूल आम्दानीको १ दशमलव १ प्रतिशत रकम व्यावसायिक सामाजिक उत्तरदायित्व अनुसार शिक्षा, स्वास्थ्य, धार्मिक, मठ, मन्दिरको जीर्णोद्धारलगायत विकास निर्माणका कार्य आदिमा खर्चिँदै आएको छ ।
कम्पनीले भूकम्प तथा कोभिड जस्ता प्राकृतिक तथा अन्य विपत्तका समयमा राहत वितरण तथा सहयोग गर्दै आएको छ ।
साथै मनकामनामा केवुलकार हाताभित्र नै सुविधा सम्पन्न रिसोर्टको निर्माणको अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ । यो रिसोर्टमा स्वीमिङ्ग पुल, हेल्थ क्लब, सभा सेमिनार हल र रेष्टुरेन्टको सुविधा हुनेछ । रिसोर्ट संचालन आएपछि मनकामना र वरिपरिका क्षेत्रलाई धार्मिक साथै अन्य पर्यटकीय महत्वका साथ गन्तब्य बनाउने आफूहरुको लक्ष रहेको कम्पनीले जनाएको छ।
सञ्चालनमा आएपछि मनकामनामा शुरूवाती वर्षमा १० लाख यात्रुहरूलाई सेवा दिएकोमा यो क्रमशः बढ्दै गएको र हाल वार्षिक १२ लाख यात्रुलाई सेवा दिँदै आएको कम्पनीले जनाएको छ ।
यस वर्ष १३ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य लिइएको कम्पनीले लिएको छ ।
मनकामना केबलकार व्यवसायी लक्ष्मण बाबु श्रेष्ठले स्थापना गरेका हुन् । सामाजिक उत्तरदायित्व अन्तर्गत मनकामना र आसपासका क्षेत्रमा विकास, स्वास्थ्य, शिक्षा तथा विपन्न वर्ग जातिहरूलाई सहयोग गर्दै आएको जनाएको छ ।
Comment