जीवन बीमा कम्पनीले उठाए ४० अर्ब ८० करोडकाे प्रिमियम, कसले कति उठाए ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

जीवन बीमा कम्पनीले उठाए ४० अर्ब ८० करोडकाे प्रिमियम, कसले कति उठाए ?



काठमाडौं। जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्ममा ४० अर्ब ८० करोड ४६ लाख ८९ हजार रुपैंयाको कुल बीमा शुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ जीवन बीमा कम्पनी र दुई लघु जीवन बीमा कम्पनीले एक करोड ३८ लाख ६७ हजार भन्दा बढी बीमालेख बिक्री गरी सो बराबरको बीमाशूल्क संकलन गरेका हुन् ।

प्राधिकरणका अनुसार १४ जीवन बीमा कम्पनीले मात्रै ४० अर्ब ८० करोड १६ लाख रुपैयाँ प्रिमियम भित्र्याएका छन् । गत वर्षको यसै अवधिको तुलनामा १४ प्रतिशतले बढी हो। गत वर्षको पहिलो त्रैमाससम्म जीवन बीमा कम्पनीहरुले ३५ अर्ब ७७ करोड रुपैयाँ प्रिमियम संकलन गरेका थिए।

असोज मसान्तसम्म सबैभन्दा बढी प्रिमियम संकलन गर्ने कम्पनीमा नेपाल लाइफ रहेको छ। कम्पनीले सो अवधिसम्म १० अर्ब ९५ करोड रुपैयाँ प्रिमियम संकलन गरी नम्बर वानमा आफ्नो स्थान कायम गर्न सफल भएको छ।

त्यस्तै, दोस्रोमा एलआईसी नेपालले ४ अर्ब ५० करोड रुपैयाँ, हिमालयन लाइफले ४ अर्ब ३८ करोड रुपैयाँ, नेसनल लाइफले ४ अर्ब १९ करोड रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले ४ अर्ब ५ करोड रुपैयाँ, सूर्यज्योति लाइफले २ अर्ब ३० करोड रुपैयाँ, एसियन लाइफ रुपैयाँले १ अर्ब ८६ करोड, सानिमा रिलायन्स लाइफले १ अर्ब ५१ करोड रुपैयाँ, सिटिजन लाइफले १ अर्ब ५० करोड, मेट लाइफले १ अर्ब ३६ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब १५ करोड रुपैयाँ, आइएमई लाइफले १ अर्ब १० करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब १ करोड रुपैयाँ र सन नेपाल लाइफले ८८ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन्।

त्यस्तै, गत आर्थिक वर्षको तुलनामा प्रिमियम संकलनमा सबैभन्दा प्रगति गर्ने कम्पनीमा राष्ट्रिय बीमा संस्थान रहेको छ। संस्थानले गत वर्षको पहिलो त्रैमासको तुलनामा २६३ प्रतिशतले प्रिमियम बढाएको छ। त्यस्तै, आइएमई लाइफले पनि २६.२५ प्रतिशतले गत वर्षको तुलनामा प्रिमियम बढाएको छ।

त्यस्तै, दुई लघु जीवन बीमा कम्पनीले असोज मसान्तसम्म ३० लाख ७० हजार रुपैयाँ प्रिमियम संकलन गरेको छ। जसमा गार्डियन माइक्रो लाइफले १९ लाख ३१ हजार रुपैयाँ र क्रेष्ट माइक्रो लाइफले ११ लाख ३९ हजार रुपैयाँ प्रिमियम संकलन गरेको छ।

प्रकाशित : १७ कार्तिक २०८०, शुक्रबार १५:०९