पत्रकारले उठाए पत्रकारको सुरक्षा र पेन्सनको मुद्दा  « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

पत्रकारले उठाए पत्रकारको सुरक्षा र पेन्सनको मुद्दा 



काठमाडौं । नेपाल तथा भारतका सीमावर्ती क्षेत्रमा क्रियाशील पत्रकारहरूको साझा संगठन ‘मिडिया फर बोर्डर हार्मोनी’ले सरैया भन्ने स्थानमा एक कर्यक्रमको आयोजना गरि पत्रकारका मुद्दाका सम्बन्धमा नीतिनिर्माताहरूको ध्यानाकर्षण गराएको छ ।  

संगठनका तर्फबाट आयोजना गरिएको ‘हाम्रो आवाज’ कार्यक्रममा मुजफ्फरपुर, वैशाली, पूर्वी चम्पारण, पश्चिमी चम्पारण, सीतामढी, शिवहर, दरभंगा, समस्तीपुर, फारबिसगञ्जलगायत विभिन्न जिल्लाबाट आएका पत्रकारहरूले पत्रकार हितसँग सम्बन्धित मुद्दाहरूमा छलफल गरेका थिए । 

पत्रकारहरूका तर्फबाट राखिएका सुझावहरूलाई माग(पत्रका रूपमा प्रस्तुत गरियो, जसलाई ध्वनिमत्तले पारित गरिएको संस्थाका अध्यक्ष अमरेन्द्र तिवारीले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पारू विधायक शङ्कर रायले सूचना संयन्त्रको वास्तविक मेरुदण्ड स्थानीय स्तरका पत्रकार हुन् भन्दै ठूलो सङ्ख्यामा स्थानीय पत्रकारहरू सक्रिय भई जनताका समस्या र सरकारी योजनाहरूको जानकारी बाहिर ल्याइरहेको बताए ।

उनले पत्रकारहरूको सुरक्षा र पेन्सनसँग सम्बन्धित मुद्दालाई सरकारसमक्ष राख्नुका साथै विधानसभामा पनि प्रमुखताका साथ उठाउने प्रयास गर्ने बताए । लालगञ्ज विधायक सञ्जय सिंहले पनि पत्रकारहरूको सुरक्षा, सम्मान र सामाजिक(आर्थिक सुरक्षासँग जोडिएका मुद्दाहरूमा आवश्यक पहल गर्ने भरोसा दिलाए ।

कार्यक्रममा पत्रकारहरूले पत्रकार संरक्षण आयोग गठन गरी पत्रकारहरूको सुरक्षा र अधिकारको संरक्षण गरिनुपर्ने, ग्रामीण स्तरमा कार्यरत पत्रकारहरूलाई मान्यता प्राप्त पत्रकारको दर्जा दिइनुपर्ने, ५८ वर्ष उमेर पार गरेका वरिष्ठ पत्रकारहरूलाई पत्रकार पेन्सन योजनामा समावेश गरिनुपर्नेलगायतका विषयमा ध्यानाकर्षण गराएका थिए । 

यस्तौ, सरकारका लोककल्याणकारी योजनाहरूको जानकारी पत्रकारहरूसम्म पु¥याउनका लागि प्रेस क्लबहरूको नियमित सञ्चालन गरिनुपर्ने, प्रत्येक जिल्लाको प्रेस क्लबमा जिल्ला प्रशासनका तर्फबाट मासिक पत्रकार गोष्ठी आयोजना गरिनुपर्ने, पत्रकारहरूलाई आकस्मिक परिस्थितिमा आर्थिक सहायता दिनका लागि ‘पत्रकार आकस्मिक सहायता कोष’ गठन गरिनुपर्ने जस्ता विषयका सम्बन्धमा पनि नीतिनिर्माताहरूको ध्यानाकर्षण गराइएको थियो । 

कार्यक्रमको अध्यक्षता ‘मिडिया फर बोर्डर हार्मोनी’ मुजफ्फरपुरका जिल्ला अध्यक्ष रञ्जन कुमारले गरेका थिए भने सञ्चालन वरिष्ठ पत्रकार अमरेन्द्र तिवारीले गरेका थिए ।

प्रकाशित : 5 October, 2026 12:20 pm