पहिलो पटक जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा संचालन शुरू « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

पहिलो पटक जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा संचालन शुरू



काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ता (बीमा मध्यस्थकर्ता) को अनलाइन परीक्षा संचालन आजदेखि शुरू गरेको छ । बीमा ऐन, २०७९ मा ‘बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नुअघि तोकिए बमोजिमको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ’ भन्ने व्यवस्था भए बमोजिम प्राधिकरणले पहिलो पटक जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा शुरू गरेको हो ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा संचालनको शुभारम्भ गरे ।

अध्यक्ष सिलवालले परीक्षामा सफल भई इजाजतपत्र पाउने बीमा अभिकर्ताहरूले गर्ने व्यवसायबाट बीमा सम्बन्धी सही सूचना प्रवाह हुने र हाल बीमा बजारमा देखिएको बीमालेख व्यतित तथा सरेण्डरको समस्या समाधानमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरे ।

प्राधिकरणको केन्द्रीय कार्यालयबाट आज पहिलो दिन संचालित जीवन बीमा अभिकर्ता अनलाइन परीक्षामा देशका विभिन्न स्थानबाट ४७ जना परीक्षार्थीहरू अनलाइन माध्यमबाट सहभागी भएका थिए ।

अनलाइन परीक्षा संचालनको शुभारम्भ कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलसमेत उपस्थित थिए । जीवन बीमा अभिकर्ताका लागि हाललाई एकपटकमा १०० जनासम्मले अनलाइन माध्यमबाट परीक्षा दिनसक्ने व्यवस्था गरिएको छ ।

परीक्षा संचालन भएको मितिले ७ दिनभित्र जीवन बीमा अभिकर्ताको परीक्षाफल प्रकाशन गरिनेछ ।
जीवन बीमा अभिकर्ताको अर्को परीक्षा यही कात्तिक २०, २२ र २४ गतेका लागि तोकिएको छ ।

बीमा नियामक व्यवस्थापन सूचना प्रणाली (आईआरएमआईएस) मार्फत् बीमा अभिकर्ताको परीक्षाका लागि आवेदन दिने, एजेन्ट परीक्षा प्रणालीबाट आवेदन शुल्क बुझाउने, परीक्षा मिति चयन गर्ने तथा परीक्षा उत्तीर्ण हुनेले इजाजतपत्र शुल्क बुझाउने र आईआरएमआईएसबाट नै बीमा अभिकर्ताको इजाजतपत्र अनलाइन मार्फत प्रिन्ट गरेर लिन सकिने व्यवस्था प्राधिकरणले गरेको छ ।

प्रकाशित : १७ कार्तिक २०८०, शुक्रबार १३:४७