आन्तरिक खपतभन्दा बढी उत्पादन भएको विद्युतमात्रै निर्यात हुन्छ : प्रधानमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

आन्तरिक खपतभन्दा बढी उत्पादन भएको विद्युतमात्रै निर्यात हुन्छ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक खपतभन्दा बढी उत्पादन भएको विद्युत निर्यात गरेर मुलुकको आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्य सरकारले लिएको बताएका छन् । प्रतिनिधिसभामा शुक्रबार चलिरहेको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री दाहालले यसका लागि देशको आन्तरिक खपत हेरेर सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रुपमा सम्झौता गर्ने बताएका हुन् ।

प्रधानमन्त्री दाहालले यसका लागि अहिले नै विद्युत् व्यापारका लागि सम्झौता भइनसकेको पनि स्पष्ट पारे। प्रचलित कानुनको परिधिभित्र रही विद्युत व्यापार सम्झौता हुने र अहिले त्यसको तयारी भइरहेको उनले जानकारी दिए।

‘अहिले पनि नेपालमा खपत भएर बचेको विद्युत निर्यात भइरहेको छ’, उनले भने, ‘देशमा जलविद्युत् उत्पादनको सम्भावना अत्यधिक रहेको छ र देशको समृद्धि हासिल गर्नेमा ऊर्जा व्यापार महत्वपूर्ण हुनसक्ने तथ्य निर्विवाद रुपमै रहेको छ।’

प्रकाशित : ८ असार २०८०, शुक्रबार १४:२२