यसरी जन्मिँदै छ ठूलो विकास बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

यसरी जन्मिँदै छ ठूलो विकास बैंक



काठमाडाै २५ माघ। साबिकको भिबोर बैंक र सोसाइटी डेभलपमेन्ट बैंकबीच मर्जर भई केही महिनाअघिदेखि मात्र संयुक्त कारोबार थालेको भिबोर सोसाइटी डेभलपमेन्ट बैंक  अब इतिहास बन्ने भएको छ । हाल भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको रुपमा संचालित राष्ट्रियस्तरको यो टप विकास बैंकले लुम्बिनी फाइनान्स एण्ड लिजिङ लिमीटेडसँग मर्जरको सम्झौता गर्दै त्यसपछि बन्ने बैंकको नाम ‘लुम्बिनी  विकास बैंक लिमीटेड’ राख्ने सहमति गरेको हो ।

सोमबार एक कार्यक्रमका बीच भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमीटेडका संचालक समिति अध्यक्ष सुशीलराज पराजुली र लुम्बिनी फाइनान्सका संचालक समिति अध्यक्ष चिन्तामणि भट्टराईले मर्जरको समझदारीपत्रमा हस्ताक्षर  गरेका हुन  मर्जरको समझदारीपत्रमा हालको भिवोर सोसाइटी नाम परिवर्तन गरी लुम्बिनी विकास बैंक राख्ने सहमति भएको छ ।

मर्जरपछि जन्मिने लुम्बिनी विकास बैंकको संचालक समिति अध्यक्ष हाल भिवोर सोसाइटी डेभलपमेन्ट बैंकका अध्यक्ष पराजुली नै हुनेछन् भने सीइओमा पनि खनालले नै निरन्तरता पाउने सहमति बनेको छ । यस्तै, लुम्बिनी फाइनान्स हालको सीइओ उमेश रेग्मी मर्जरपछि बन्ने  विकास बैंकमा डेपुटी सीइओ रुपमा रहनेछन् ।

हाल लुम्बिनी फाइनान्सको चुक्तापूँजी ५६ करोड रुपैयाँ छ भने भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको चुक्तापूँजी १ अर्ब ८१ करोड ५० लाख रुपैयाँ छ । मर्जरपछि बन्ने लुम्बिनी विकास बैंकको चुक्तापूँजी २ अर्ब ३८ करोड पुुग्नेछ । नेपाल राष्ट्रबैंकले ०७४ असार मसान्तभित्रमा राष्ट्रिय स्तरको विकास बैंकले चुक्तापूँजी २ अर्ब ५० करोड पुर्याउनुपर्ने व्यवस्था गरेसँगै बैंक तथा बित्तीय संस्थाहरुबीच मर्जरको लहर नै चलेको छ । मर्जरपछि बन्ने लुम्बिनी विकास बैंकले तोकिएको चुक्तापूँजी पुर्याउन खासै ठूलो कसरत नगर्नुपर्ने पनि देखिएको छ ।

सीइओ खनालका अनुसार मर्जरपछि बन्ने विकास बैंकको शाखा सञ्जाल ५० माथि पुुग्नेछ । निक्षेप १८ अर्ब माथि हुनेछ भने कर्जा परिचालन १५ अर्ब माथि पुुग्नेछ । करिब २१ वर्ष पुरानो लुम्बिनी फाइनान्ससँग मर्ज भई बन्ने लुम्बिनी विकास बैंकमा कर्मचारीको संख्या करिब ५ सय पुुग्नेछ । दुुई कम्पनीका संचालकबीच बनेको सहमति अनुसार मर्जरको प्रक्रिया अबको ५ महिनाभित्र पूरा गरिने बताइएको छ  ।

प्रकाशित : २५ माघ २०७३, मंगलवार ०४:२३