वैदेशिक रोजगारीमा रहेकाले आईपीओ कसरी भर्ने ? जान्नुहोस् सरल तरिका « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

वैदेशिक रोजगारीमा रहेकाले आईपीओ कसरी भर्ने ? जान्नुहोस् सरल तरिका



काठमाडौं। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओमा कोटा प्रणाली कार्यान्वयनमा आईसकेको छ। श्रम मन्त्रालयबाट श्रम स्वीकृति लिएका नेपालीलाई मात्र साधारण सेयरमा उक्त कोटा छुट्याइएको हो।

तर, आवेदन दिने प्रक्रिया थाहा नभएर सेयरमा लगानी गर्न चाहेका कतिपय नेपाली अलमलमा रहेको पाइन्छ। सेयर बजार बुझेकाहरु कतिपयले बेग्लै कोटा नछु्याउँदै विदेशबाटै कारोबार गरिरहेका थिए। अहिले कोटाबाट भर्न पाइने भएपछि कसरी पाइन्छ भन्नेमा उनीहरुको पनि जिज्ञासा छ। धितोपत्र बोर्डले आइपीओमा सर्वसाधारणको हिस्सालाई घटाउँदै बैदेशिक रोजगारीमा रहेकाहरुका लागि १० प्रतिशत कोटा अनिवार्य गरेको हो।

तर, आवेदन दिने व्यवस्थालाई सम्बन्धित निकायले प्रष्ट नपार्दा रोजगारीमा गएका श्रमिक र उनीहरुको परिवारले गुनासो गर्न थालेका छन्। नेपाल धितोपत्र बोर्डका अनुसार कोटाको सेयरका लागि आवेदन दिन चाहनेले वैदेशिक रोजगारीका लागि नेपाल सरकारको श्रम स्वीकृति लिएको हुनु अनिवार्य छ। साथमा आवेदकको स्वयंको नाममा बैंकमा रेमिट्यान्स खाता खोलेको हुनुपर्छ। साधारण बचत खाताले हुँदैन।

मापदण्ड के–के हुन् ?

यसरी आईपीओ भर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आश्वा सदस्य बैंकमार्फत आफ्नो नाममा वैदेशिक रोजगारी विप्रेषण ९रेमिट्यान्स० बचत खाता खोल्नुपर्नेछ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट अनुमतिप्राप्त निक्षेप सदस्य (डिपि) मार्फत आफ्नो नाममा हितग्राही (डिम्याट) खाता खोल्नुपर्नेछ।

नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेको विवरण पेश गरी रेमिट्यान्स बचत खाताको लागि बैंक मार्फत सि–आश्वा रजिष्ट्रेशन नम्बर (सीआरएन) लिनुपर्नेछ।

आफ्नो रेमिट्यान्स बचत खातामा पछिल्लो ६ महिनामा कम्तीमा ५० हजार रूपैयाँ आफू रोजगार रहेको मुलुकबाट जम्मा गरेको हुनुपर्नेछ।

आवेदकले आईपीओ निष्काशन भएको अन्तिम मितिभित्र आफू रोजगार रहेको मुलुकबाट रकम जम्मा गरी आवेदन दिन सक्नेछन्।

यसै सम्बोधनलाई समाधान गर्न गरिमा क्यापिटल लिमिटेडले सहायता कक्षसमेत सञ्चालनमा ल्याएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले ९८४७३७९००९ र ९८४७३७९०१० भाइबर, ह्वाट्सएप र बोटिममार्फत सम्पर्क गरी जानकारी लिनसक्ने कम्पनीले जनाएको छ।

ग्राहकले बैंकमा रेमिट्यान्स बचत खाता खोल्न, डिम्याट/हितग्राही र मेरोशेयर खाता खोल्न, बैंकबाट सिआरएन नम्बर लिन र आईपीओमा आवेदन दिनका लागि सहायता कक्षमा सम्पर्क गर्न सक्नेछन्।

प्रकाशित : १२ फाल्गुन २०७९, शुक्रबार १४:१२