विविध कार्यक्रम गरी मनाइयो अन्तर्राष्ट्रिय बालिका दिवस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

विविध कार्यक्रम गरी मनाइयो अन्तर्राष्ट्रिय बालिका दिवस



काठमाडौं । “गर्व गरौँ छोरी जन्माउनुमा” भन्ने मूलनाराका साथ विभिन्न कार्यक्रम गरी १० औँ अन्तर्राष्ट्रिय बालिका दिवस मनाएको छ । सञ्चारिका समूह, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, संयुक्त राष्ट्र सघीय जनसंख्याकोष (यूएनएफपीए) र नोराडको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

१९ डिसेम्बर २०११ माभएको संयुक्त राष्ट्रसङ्घीय साधारणसभाको विशेष प्रस्तावबाट निर्णय भई सन् २०१२ देखि प्रत्येक वर्ष अक्टोबर ११ मा यो दिवस मनाउन थालिएको हो । “अबहाम्रो पालो, हाम्रो अधिकार, हाम्रो भविष्य” भन्ने नाराका साथ यस वर्ष पनि विश्वभर यो दिवस मनाइँदैछ ।

कार्यक्रममा बोल्दै महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सहसचिव यमलाल भुसालले अहिले पनि बालकको तुलनामा बालिकाहरू बढी हिंसामा परिरहेको भन्दै बालिका माथि हुने हिंसा र विभेदको अन्त्य हुनैपर्नेमा जोड दिए । उनले बालिका माथि भइरहेको हिंसा र विभेदको अन्त्यका लागि विद्यमान कानुन कार्यान्वयनमा सरकार प्रतिवद्ध रहेको बताए ।
छोरीको महत्व बुझाउनकै लागि प्रत्येक वर्ष मनाइँदै आएको यो दिवसबाट सकारात्मक प्रतिफल आउने आशा पनि सहसचिव भुसालले व्यक्त गरे ।

यूएनएफपीएका WON Young Hong ले समाज परिवर्तनका लागि आमा शिक्षित हुनुपर्नेमा जोड दिए । आमा शिक्षित भएमात्रै आगामी पुस्ता पनि शिक्षित हुँदै जाने भएकाले बालिकालाई हरेक अवसरमा प्राथमिकतामा राख्नु पर्ने बताए ।
मिडिया लैङ्गिकता सम्बन्धी विशेषज्ञ डा. समिक्षा कोइरालाले छोरीको सो पहिचान समाजलाई स्वीकार्य नभए पनि छोरीले आफ्नो पहिचान बनाउनु आजको आवश्यकता भएको बताईन् । उनले पत्रकार र सञ्चार गृहले बालिकाको विषयलाई केन्द्र बिन्दुमा राखेर अगाडि बढ्न सके दिवसको औचित्य पुष्टि हुने बताए । कृपाका कार्यकारी निर्देशक आनन्द तामाङले विभेदपूर्ण लिङ्ग छनौट सम्बन्धी राष्ट्रिय रणनीति प्रस्तुत गरे ।

नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा शिल्पी नाटक घरले छोरीको महत्व झल्काउन ‘सहअस्तित्व’ नामक नाटक प्रस्तुत गरेको थियो । घिमिरे युवराजको लेखन तथा निर्देशन रहेको नाटकमा पेटको गर्भ छोरी भन्ने थाहा पाएर गर्भपतन गर्नु अपराध हो भन्ने जनचेतनामूलक बिषय समेटिएको थियो । छोराछोरी बीचको विभेद हटाउन पर्याप्त जनचेतना फैलाउने काम तीव्र नभएसम्म अझैं धेरै छोरीहरू जन्मन पाउने छैनन् भन्ने नाटकको सन्देश थियो ।

कार्यक्रममा कवि स्वप्नील स्मृति, सकुन्तला जोशी र ज्योति जंगलले छोरीको महत्वलाई दर्शाउने कविता बाचन गरेका थिए ।
सोही अवसरमा यूएनएफपीए र सञ्चारिका समूहले तयार पारेको सम्देशमूलक भिडियो पिएसएहरू पनि देखाइएको थियो ।
संसारभरि बालिकाअधिकारलाई प्रवद्र्धन गर्ने, बालिकालाई संरक्षण गर्ने, बालिकामाथि हुने सबै प्रकारका विभेदको अन्त्य, बालविवाह, गरिबी, अशिक्षा र विभेदबाट बालिकालाई मुक्त गराउने जागरण अभियान सञ्चालन भइरहेका छन् ।

नियमित रुपमा आइरहने बलात्कार, हिंसा, दुव्र्यवहार, विभेद, एसिड आक्रमण, अनलाइन दुव्र्यवहार जस्ता जघन्य घटनाहरुले बालिकाको शिक्षा, स्वास्थ्य, चौतर्फि विकास, संरक्षण र प्रभावकारी सहभागितामा परेको नकारात्मक असरलाई अन्त्यगर्न, देशमा विद्यमान ऐन, कानुन, कार्ययोजना, नीति तथा कार्यक्रमको प्रभावकारी कार्यन्वयनगर्न यस दिनलाई विशेष कार्यक्रमका साथ मनाइन्छ ।

नेपालको कानुनले २० वर्ष पूरा गरेपछि मात्र विवाहका लागि योग्य उमेर मानेको भएपनि सबैभन्दा बढी बालविवाह हुने दक्षिण एसियाली मुलुकमा नेपाल तेस्रो स्थानमा पर्दछ । युनिसेफले गरेको एक बिश्लेषणमा विश्वभरि कुल ७६ करोड ५० लाख बालबालिकाको बालविवाह भएको उल्लेख छ ।

नेपालएक मात्र दक्षिण एसियाली मुलुकहो जहाँ बालक र बालिकाको उत्तिकै दरले बालविवाह हुने गरेको छ । त्यसैले यस वर्षको अन्तर्राष्ट्रिय बालिका दिवसमा नेपालले आफ्नो मुख्य विषय बालविवाह अन्त्यलाई मानि विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम संचारिका समूहका अध्यक्ष बिमला तुम्खेवाको अध्यक्षतामा भएको थियो ।

प्रकाशित : २ कार्तिक २०७९, बुधबार १४:०२