३० वर्षमा पटक पटक मन्त्री बनेँ, तर काठमाडौंमा निजी घर पनि जोड्न सकिनँ’ : विजयकुमार गच्छदार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

३० वर्षमा पटक पटक मन्त्री बनेँ, तर काठमाडौंमा निजी घर पनि जोड्न सकिनँ’ : विजयकुमार गच्छदार



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफू लामो समय सत्तामा रहे पनि काठमाडौंमा घर जोड्न नसकेको दाबी गरेका छन् । आफू अहिले पनि भाडाकै घरमा बसिरहेको उनको भनाइ छ ।

ललिता निवास जग्गा हिनामिनामा भ्रष्टाचार मुद्दा खेपिरहेका गच्छदारले बुधवार पत्रकार सम्मेलन गरेर आफूले कुनै लाभ नलिएको दाबी गर्दै काठमाडौंमा घर नभएर डेरामा बस्नुपरेको धारणा राखे ।

आफ्नो सम्पूर्ण राजनीतिक जीवन खुला किताबसरह रहेको भन्दै उनले आफूले आजसम्म राष्ट्रलाई हानी नोक्सानी पुग्ने र आफूलाई मात्र लाभ हुने कुनै पनि गैरकानुनी काम नगरेको दाबी गरे । ‘सेवा र समर्पणसहित राजनीति गरेको व्यक्ति हुँ । त्यसकै लागि समर्पित पनि छु,’ उनले भने ।

२०४८ सालदेखि पटक पटक मन्त्री र उपप्रधानमन्त्री पदमा रहँदा पनि आफूले कानुनले दिएको सुविधाबाहेक नियमविपरीत कनै पनि लाभ नलिएको उनको भनाइ छ । ‘यति लामो समय मन्त्री भएका नेताको काठमाडौंमा बास बस्ने आफ्नो निजी निवास पनि नभएको र भाडाको घरमा बसिरहेको भन्ने कुरा सुन्दा यहाँहरुलाई आश्चर्य पनि लाग्न सक्ला, तर यथार्थ यही हो । मैले मन्त्री पदको जिम्मेवारी पाउँदा सदैव आफ्नो र परिवारको सम्पत्ति विवरण सार्वजनिक गरेको थिएँ, जो यहाँहरूले पढ्न बुझन सक्नुहन्छ,’ उनले भनेका छन् ।

ललिता निवास जग्गा प्रकरणमा पनि आफूले पदीय जिम्मेवारीअनुसारको भूमिकाबाहेक अन्यथा केही नगरेको गच्छदारले उल्लेख गरेका छन् । ‘यसमा कोही कसैसँग कुनै किसिमको लाभ लिएको छैन । यस्तो अवस्थामा पनि मेरो खुला, सादा र स्वच्छ, जीवनलाई ध्वस्त पार्ने कुटिल उद्देश्य राखी किन र के कारणले निराधार आरोप लगाई मुद्दा लगाइएको हो, मलाई आश्चर्य लागिरहेको छ,’ उनले भनेका छन् ।

प्रकाशित : ६ आश्विन २०७८, बुधबार १७:४१