राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र जेठ २५ गतेबाट बिक्री खुला हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र जेठ २५ गतेबाट बिक्री खुला हुने



काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले यही जेठ २५ गते मंगलबारदेखि ‘८.५ प्रतिशत आरबीबीएल डिबेन्चर २०८३’ नामको ऋणपत्र बिक्री खुला गर्ने भएको छ।

बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८.५० प्रतिशत ब्याजदर भएको कुल २ अर्ब ५० करोड रुपैयाँ (२५ लाख कित्ता) मूल्य बराबरको ऋणपत्र बिक्री गर्न लागेको हो। यस ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ।

‘८.५ प्रतिशत आरबीबीएल डिबेन्चर २०८३’ नामको प्रतिकित्ता रू. १ हजार दरका कुल २५ लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १५ लाख कित्ता व्यक्तिगत तवरबाट संगठित संस्थाहरुलाई बिक्री गरिने र सो का लागि ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक ‘एनआईबिएल एस क्यापिटल लिमिटेड’ र निष्काशनकर्ता कम्पनी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आपसी सहमतिमा बिक्री वितरण गरिने बैंकले जनाएको छ।

साथै, सर्वसाधारणका लागि छुट्याईएको ४० प्रतिशत अर्थात १० लाख कित्ता सर्वसाधारण नेपालीका लागि सार्वजनिक निष्काशनबाट ऋणपत्र बिक्री गरिनेछ।


छिटोमा जेठ २८ गते र ढिलोमा असार ८ गतेसम्म बिक्रीमा रहने यस ऋणपत्र खरिदका लागि न्युनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

ऋणपत्र खरिदका लागि राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरु, सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरु मार्फत आवेदन दिन सकिनेछ। साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ।

बैंकको यस ऋणपत्रलाई केयर रेटिङ नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा प्रर्याप्त मात्रामा सुरक्षा प्रदान गर्ने संस्थाको रुपमा रहेको संकेत गर्ने केयर एनपी ए प्लस आईएस रेटिङ प्रदान गरेको छ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएको विवरणपत्र बैंकको वेबसाइटमा समेत राखिएको छ।

प्रकाशित : १७ जेष्ठ २०७८, सोमबार १९:५४