राष्ट्रिय खाद्य बैंकको सम्पर्क कार्यालय हेमजामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्रिय खाद्य बैंकको सम्पर्क कार्यालय हेमजामा



काठमाडौं । ‘पोषिलो आहारका लागि दिगो कृषि’ भन्ने नाराका साथ २ अर्ब लगानीमा खुलेको राष्ट्रिय खाद्य बैंकको पोखराको हेमजामा सम्पर्क कार्यालय स्थापना भएको छ ।

यसअघि खाद्य बैंकले बर्दिया र झापा जिल्लामा आफनो बृहत कृषि परियोजना उदघाटन गर्नुका साथै सम्पर्क कार्यालय समेत विस्तार गरेको थियो । पोखरा महानगरपालिका वडा नं २५ हेमजा मिलन चौक, तिमल्सिना कम्प्लेसमा बैंकले आफनो संम्पर्क कार्यालय स्थापना गरेको हो ।

पोखरा हेमजामा ३५ रोपनी जग्गा लिजमा लिएर पाइलट प्रोजेक्ट सुरु गर्न लागिएको र ३ सय रोपनी जग्गा किसानहरुसँग सहकार्य गरिने बैंकका अध्यक्ष शंकर उप्रेतीले बताए ।

हेमजाबासीलाई राष्ट्रिय खाद्य बैंकले सुरु गरेको व्यवसायिक कृषि अभियान मन परेको र करिव ५ सय जनाले संस्थापक शेयर सदस्य बन्न इच्छक भएको पनि उप्रेतिले बताए ।

बैङ्कमा हालसम्म ५ सय ९० प्रमोटर शेयर सदस्य रहेकोले प्रमोटरको सङ्ख्यालाई बढाएर एक हजार जना बनाउने तयारी भएको, आवश्यक मापदण्ड पूरागरी छिट्टै सर्वसाधारणका लागि आइपिओ जारी गर्नेसमेत तयारी भएको अध्यक्ष उप्रेतीले बताएका छन् ।

कृषि उपजको उत्पादन तथा व्यापार गर्ने कम्पनीका रूपमा खाद्य बैङ्क स्थापना भएकोले बैङ्कमार्फत धान, गहुँ, मकै, तरकारी तथा फलफूलको उत्पादन तथा व्यापार गर्दै किसानसँग सहकार्य गर्दै उत्पादन बढाउने अध्यक्ष उप्रेतीले बताए।

बैङ्कले पहिलो चरणमा २३ जिल्लामा चालु आर्थिक वर्षभित्रै कृषि उत्पादनको काम सुरु गर्ने तयारी गरेको र हाल कैलाली, कञ्चनपुर, बर्दिया, झापा, मोरङ, सुनसरी, धनुषा, चितवन, रुपन्देही सहित १३ जिल्लामा जग्गा लिएर उत्पादन सुरु गरिसकेकोले हाल झापा, मोरङ, सुनसरी लगायत जिल्लामा थप जग्गा लिने तयारी पूरा भएको जनाइएको छ।

प्रकाशित : ८ जेष्ठ २०७८, शनिबार १३:३०