अब वाणिज्य बैंकका हरेक शाखाले विदेशी मुद्राको कारोबार गर्न पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

अब वाणिज्य बैंकका हरेक शाखाले विदेशी मुद्राको कारोबार गर्न पाउने



काठमाडौँ । अब वाणिज्य बैंकका हरेक शाखाले विदेशी मुद्राको कारोबार गर्नुपर्ने भएको छ । यसअघि एउटा बैंकका सबै शाखाबाट विदेशी मुद्राको कारोबार अनिवार्य थिएन ।

राष्ट्र बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली ०७७ मा यो नयाँ व्यवस्था ल्याएको हो । १० वर्षपछि परिमार्जन गरेको विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको छ ।

, यस्तो छ नयाँ व्यवस्थानयाँ व्यवस्थाअनुसार वाणिज्य बैंकका हरेक शाखाले विदेशी मुद्रा बिक्री, सटही नगरे पनि खरिद भने गर्नुपर्नेछ । नागरिकसँग रहेको विदेशी मुद्रा बिक्रीका लागि सजिलो होस् भन्ने उद्देश्यले उक्त व्यवस्था गरिएको राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका निर्देशक गुरुप्रसाद पौडेलले जानकारी दिए । ‘शाखाले विदेशी मुद्राका अरू कारोबार नगर्न पनि सक्छन् ।तर ग्राहकले ल्याएको विदेशी मुद्रा भने अनिवार्य रूपमा किन्नुपर्नेछ,’ उनले भने ।

नयाँ व्यवस्थाअनुसार वाणिज्य बैंकका हरेक शाखाले विदेशी विनिमय कारोबारका लागि छुट्टाछुट्टै लाइसेन्स लिनु नपर्ने भएको छ । बैंकले एक पटक विदेशी विनिमय कारोबारका लागि लाइसेन्स लिएपछि सबै शाखामार्फत सो कारोबार गर्न पाइनेछ ।

यसअघि हरेक शाखाले छुट्टाछुट्टै विदेशी विनिमय कारोबारका लागि लाइसेन्स लिनुपर्ने व्यवस्था थियो । यही कारण बैंकका सीमित शाखाले विदेशी विनिमयको कारोबार गर्दै आएका थिए । कान्तिपुर दैनिकमा समाचार छ ।

प्रकाशित : ८ भाद्र २०७७, सोमबार ०८:०७