असार १ गतेदेखि कार्यालयहरु दुई ‘सिफ्ट’: बैक तथा वित्तीय संस्थाहरु पनि खुल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

असार १ गतेदेखि कार्यालयहरु दुई ‘सिफ्ट’: बैक तथा वित्तीय संस्थाहरु पनि खुल्ने



काठमाडौं । सरकारले ‘लकडाउन’ व्यवस्थापन गर्नेक्रममा असार १ गतेदेखि कार्यालयहरु दुई ‘सिफ्ट’मा चलाउने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु बिहीबार सार्वजनिक गर्दै अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले लकडाउन व्यवस्थापनसम्बन्धी पहिलो २१ दिने योजना सुनाए ।

जसअनुसार असार १ गतेदेखि सरकारी, निजी र बैंक तथा वित्तीय संस्थाका कार्यालय बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म पहिलो सिफ्टमा र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्ट सञ्चालन हुनेछन् ।

त्यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको जनस्वास्थ्यसम्बन्धी र गृह मन्त्रालयले जारी गरेको सुरक्षासम्बन्धी ‘प्रोटोकल’को पालना गर्नुपर्ने जनाइएको छ ।

सरकारले ‘प्याकिङ’ र ‘टेक अवे’ सेवा दिनेगरी रेस्टुरेन्टहरु खुला गर्ने तर होटल तथा ‘नाइट’ क्लबहरु खुल्न नदिइने पनि जनाएको छ ।

मोटरसाइकलमा एकजनाभन्दा धेरै चढ्न नपाइने र चारपांग्रे निजी सवारी–साधनमा चालकबाहेक दुईजना चढ्न पाउने तथा सबै प्रकारका ढुवानी खुला गरिने जनाएको छ ।

यस्तै, सरकारले नेपाल र भारतबीचको सीमा विवाद सम्बन्धमा प्रमाण संकलनका लागि नौ सदस्यीय विज्ञ समूह गठन गरेको छ ।

नीति तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेतीको संयोजकत्वमा नौ सदस्यीय विज्ञ समूह गठन गरिएको जानकारी सरकारका प्रवक्ता डा. खतिवडाले दिए ।

विहीबार देखि सुरु भएका सेवा: मन्त्रिपरिषद्को निर्णयअनुसार केही सेवा आजैबाट लागू हुने गरी सञ्चालन गर्न गर्न पाइने छ । जसअनुसार स्वास्थ्यसँग सम्बन्धित सबै सेवा, सबै प्रकारका कृषि तथा पशुपक्षी व्यवसाय, उद्योग व्यापार, व्यवसाय, पसल, डिपार्टमेन्ट स्टोर, सबै प्रकारका ढुवानी, भौतिक दुरी कायम गर्दै भिडभाड नहुने गरी पैदल आवागमन, साइकल र मोटरसाइकल (एक जना मात्रै चढ्ने गरी) सञ्चालन गर्न पाइने छ ।

काठमार्डौँ उपत्यकाको हकमा उपत्यकाभित्र र बाहिरको हकमा जिल्ला भित्र मात्र जोर विजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन गर्न पाइने छ । तर यसरी सवारी सञ्चालन गर्दा चालक बाहेक दुई जना मात्र राख्नुपर्नेछ । विगतदेखि नै सञ्चालन भएका फोहरमैैला व्यवस्थापन, विद्युत्, दमकल, एम्बुलेन्स, सञ्चार, हुलाकसम्बन्धी विगत कै सेवालाई कायम गरिएको छ ।

यस्तै नर्सरी तथा वनजन्य उद्यम, विकास आयोजना र निर्माण सेवा (निजी क्षेत्रको समेत) नदी तथा खानीजन्य उत्खनन्, सङ्कलन र ढुवानी तथा बिक्री वितरणलाई पनि सहजीकरण गरिएको छ । रेष्टुरेन्टबाट चलाउन नपाइने तर प्याकिङ सेवा लान सकिने व्यवस्था गरिएको छ ।

क्वारेन्टिनका लागि तोकिएका होटल र यातायातका साधन पनि सञ्चालन हुने छन् । यसरी सेवा शुरु गर्दा मास्क, सेनिटाइजर व्यवस्था आफैँले गर्नुपर्ने भौतिक दूरी कायम गर्नुपर्ने, पटकपटक सावुन पानीले हात धुनुपर्नेलगायत जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड अनिवार्य पालना गर्नुपर्ने छ ।

असार १ गतेदेखि सञ्चालन हुने सेवा : सरकाले आगामी असार १ गतेदेखि लागू हुने गरी केही सेवा सञ्चालन गर्ने निर्णय पनि गरेको छ । विभिन्न कार्यालयको सेवा भने दुई सिफ्टमा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । बैक, वित्तीय संस्था, सहकारी, बीमा सेवा असार १ गतेबाट मात्रै सञ्चालन हुनेछन् ।

यस्तै सरकारी कार्यालय तथा शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय, बैंक तथा वित्तयि संस्था (दुई सिफ्टमा) सञ्चालन हुने छन् । सार्वजनिक तथा जोरविजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सेवा प्रदायक कार्यालयका श्रमिक तथा कर्मचारी ओसारपसार गर्न प्रयोग गरिने सवारी साधनसमेत असार १ गतेबाट मात्रै सञ्चालन हुन पाउने छन् ।

उक्त सवारीमा एक लहरमा एक जना यात्रु मात्रै राख्नुपर्ने छ । यात्रुले अनिवार्य रुपमा मास्क र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने र सवारीलाई दैनिक निसङ्क्रमित गर्नुपर्ने छ । उक्त सवारीमा आफ्नो कार्यालयमा काम गर्ने मजदुर तथा कर्मचारी मात्रै राख्नुपर्ने छ ।

प्रकाशित : २९ जेष्ठ २०७७, बिहीबार २१:३४