सेबोन अध्यक्षले परिसंघलाई भने – उत्पादनमूलक क्षेत्रको शेयर बजारमा प्रतिनिधित्व बढाउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सेबोन अध्यक्षले परिसंघलाई भने – उत्पादनमूलक क्षेत्रको शेयर बजारमा प्रतिनिधित्व बढाउ



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले उत्पादनमुलक क्षेत्रको शेयर बजारमा प्रतिनिधित्व बढाउन आग्रह गरेका छन् । नेपाल उद्योग परिसंघको प्रतिनिधिसँगको भेटमा सोमबार नेपाल धितोपत्र बोर्ड अध्यक्षले उक्त आग्रह गरेका हुन । धितोपत्र उत्पादनमूलक क्षेत्रको हिस्सा बढाउने तथा बजार सुधार प्रक्रियालाई गति दिन परिसंघले सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् ।

सो अवसरमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले पुँजी बजारको विकास र सुधारका लागि थप पहलहरु लिइरहेको बताएका थिए । हालै बोर्डले कार्यान्वयनमा ल्याएको विशिष्टिकृत लगानी कोष नियमावलीले स्वदेशी तथा गैर–आवासीय नेपाली लगायत वैदेशिक पुँजी समेत परिचालनलाई सहज बनाएकाले यसमा सहभागिता बढाउन पनि अध्यक्ष ढुंगानाले आग्रह गरे ।

धितोपत्र बजार मार्फत पुँजीको सृजना तथा परिचालनलाई महत्व दिएर उत्पादनमूलक र अन्य क्षेत्रको सहभागिता बढाउँदै शेयर बजारलाई थप सन्तुलित बनाउन आवश्यक रहेकोले परिसंघको सहयोग महत्वपूर्ण रहने पनि अध्यक्ष ढुंगनाले उल्लेख गरे । धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई परिसंघमा स्वागत गर्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपालमा उत्पादनमूलक तथा सेवा उद्योगको प्रतिनिधित्व गर्ने संगठन भएकाले पुँजी बजारको विकास तथा सुधारका लागि परिसंघ तत्पर रहेको बताए ।

अध्यक्ष मोरले बोर्डमा नयाँ नेतृत्व आएपछि पुँजी बजारमा देखिएको सुधारको गतिलाई निजी क्षेत्रले स्वागत गरेको पनि उल्लेख गरे । शेयर कारोवारको समय बढाइएको तथा लगानीकर्ताको हित अनुकूलका व्यवस्थाहरु अघि बढाएकोमा पनि अध्यक्ष मोरले निजी क्षेत्र उत्साहित भएको बताए ।

यसैगरी परिसंघले नेपाल सरकारका दुई दर्जनभन्दा बढि निकायमा आधिकारिक प्रतिनिधित्व गर्दै नीति निर्माण तथा प्रभावकारी कार्यान्वयनमा सघाउँदै आएको उल्लेख गर्दै अध्यक्ष मोरले नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिमा परिसंघको प्रतिनिधित्वको व्यवस्था गरी थप सहकार्यका लागि समेत आग्रह गरे । सो भेटघाट कार्यक्रममा परिसंघका राष्ट्रिय परिषद् सदस्य तथा चितवन उद्योग संघको निवर्तमान अध्यक्ष भेषराज दुवाडी सहित परिसंघ अधिकारीहरुको उपस्थिति थियो ।

प्रकाशित : ४ चैत्र २०७६, मंगलवार ०७:५८