राष्ट्रिय सहकारी बैंकले १५ प्रतिशत शेयर लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्रिय सहकारी बैंकले १५ प्रतिशत शेयर लाभांश दिने



काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले मुलुकको आर्थिक विकासका लागि सहकारी क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १६ औं वार्षिक साधारणसभाको बिहीवार काठमाडौंमा उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले सहकारी क्षेत्रलाई अझै प्रभावकारी बनाउनका लागि सहकारी क्षेत्रकै छुट्टै नियमनकारी निकायको आवश्यकता रहेको बताउनुभयो ।

सहकारी क्षेत्रले नियमनको काम नेपाल राष्ट्र बैंकले गरिदिए राम्रो हुन्थ्यो भन्ने आशा गरेको छ, खतिवडाले भन्नुभयो–राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको अनुगमन, नियमन गर्छ, सहकारी क्षेत्रका लागि सहकारीकै छुट्टै नियमनकारी निकाय बनाउन जरुरी छ । सहकारीको संरचना ठुलो भइसक्यो, एउटा मन्त्रालयको एउटा विभागले कति सहकारीलाई हेर्न सक्छ ? अहिलेको सहकारीको संरचना कम हुन्छ, सहकारी क्षेत्रको प्रभावकारी नियमनकारी निकायका लागि ध्यान दिनु पर्नेमा उहाँको जोड थियो । सहकारीहरु सहकारीकै अवधारणा अनुसार चल्नु पर्छ भन्दै उहाँले सहकारीलाई कम्पनीकरण गर्ने कार्यतर्फ नलाग्न सुझाव दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सहकारी बैंकले देशभरका सहकारीहरुको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले सहकारीहरुले सामाजिक न्याय र उत्पादन वृद्धिको विषयलाई गंभिरतापूर्वक लिनु पर्नेमा जोड दिनुभयो । सामाजिक न्यायको कुरा गर्दा उत्पादन वृद्धि विर्सने र उत्पादन वृद्धिको काम गर्दा सामाजिक न्याय बिर्सने काम गर्नु हुदैन, बडालको भनाइ थियो ।

प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाडले सहकारीले वित्तीय कारोबार मात्रै होइन लोकतन्त्रको अभ्यासमा समेत उत्कृष्ट काम गरेको बताउनुभयो । अब हुने निर्वाचनहरुमा सहकारी क्षेत्र बुझेको, सहकारीमा काम गरेको मानिसलाई मात्र उम्मेदवार बनाउने गरी छलफल गरेको र त्यसो गर्न सकेमा लोकतन्त्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सकिन्छ, खाँडको भनाइ थियो ।


कार्यक्रम सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतीको अध्यक्षता, सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीको सञ्चालन र प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गरागाईको स्वागतमा सम्पन्न भएको थियो ।


साधारणसभाले बैंकका अध्यक्ष के.बी.उप्रेतीले प्रस्तुत गरेको सञ्चालक समितिको प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संंयोजक लक्ष्मीप्रसाद उप्रेतीले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन, प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गरागाईले प्रस्तुत गरेको बजेट तथा कार्यक्रम पारित गरेको छ । यस्तै साधारणसभाको बन्द सत्रले बैैंकको विनियम संशोधन गर्ने प्रस्ताव, विभिन्न १५ वटा कार्यविधिहरु परिमार्जन गर्नुका साथै सदस्य संस्थाहरुलाई १५ प्रतिशत शेयर लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

७७ वटै जिल्लामा सञ्जाल भएको सहकारी बैंकमा हाल ११ हजार ३ सय ६ सहकारी संस्था सदस्य रहेका छन् । बैंकको शेयर पूँजि १ अर्ब ७८ करोड, निक्षेप ३२ अर्ब, कर्जा लगानी २१ अर्ब रहेको छ । बैंकले चालु आर्थिक वर्षको अन्त्यसम्म १ हजार ५ सय शेयर सदस्य, २ अर्ब शेयर पूँजि, ३५ अर्ब १३ करोड निक्षेप, २८ अर्ब कर्जा लगानी गर्ने योजनाका साथ काम गरीरहेको बैंकका अध्यक्ष के.बी.उप्रेतीले जानकारी दिनुभयो ।

उत्कृष्ट सहकारी र सहकारीकर्मीहरु सम्मानित

राष्ट्रिय सहकारी बैंकले आफ्नो १६ औं वार्षिक साधारणसभामा उत्कृष्ट कारोबार गर्ने देशभरबाट छनोट भएका सहकारीहरु, सहकारी अभियन्ता, पत्रकार, कर्मचारी र उत्कृष्ट शाखालाई सम्मान तथा पुरस्कृत गरेको छ ।


साधारणसभामा प्रमुख अतिथि अर्थमन्त्री डा.युवराज खतिवडाले सम्मानित तथा पुरस्कृतहरुलाई सम्मान पत्र सहित सम्मान गर्नु भएको थियो ।


सम्मानित हुनेहरुमा राष्ट्रिय स्तरमा बचत तथा ऋणतर्फ उत्कृष्ट हुने सिवाइसी बचत तथा ऋण सहकारी संस्था बागलुङ, अन्य सहकारीतर्फ उत्कृष्ट हुने हंस मल्टिपप्रोज सहकारी संस्था भरतपुर, उत्कृष्ट संघहरुतर्फ जिल्ला सहकारी संघ चितवन र महिलाहरुद्वारा सञ्चालित सहकारी मध्ये तमोर महिला कृषि सहकारी संस्था ताप्लेजुङ रहेका छन् ।


यस्तै प्रदेश अन्तरगत बचत तथा ऋण र अन्यबाट पुरस्कृत हुने संस्थाहरुमा प्रदेश नं. १ बाट नमस्ते बचत तथा ऋण सहकारी झापा र शुभलक्ष्मी सहकारी झापा, प्रदेश नं. २ बाट नव विकास बचत तथा ऋण सहकारी संस्था रौतहट र साना किसान कृषि सहकारी संस्था बारा, प्रदेश नं. ३ बाट सुप्रिम बचत तथा ऋण सहकारी संस्था ललितपुर र जनएकता बहुउद्देश्यीय सहकारी संस्था काठमाडौं रहेका छन् ।


यस्तै गण्डकी प्रदेशबाट बिरुवा बचत तथा ऋण सहकारी संस्था पोखरा र हाम्रो बहुउद्देश्यीय सहकारी संस्था पोखरा, प्रदेश नं.५ बाट लुम्बिनी बचत तथा ऋण सहकारी संस्था बुटवल र भद्रकाली बहुउद्देश्यीय सहकारी संस्था रुपन्देही, कर्णाली प्रदेशबाट महिला जागृती बचत तथा ऋण सहकारी संस्था सुर्खेत र हरियो हिरा कृषि तथा जडिबुटि सहकारी संस्था सुर्खेत तथा सुदुरपश्चिम प्रदेशबाट सुदुर नेपाल बचत तथा ऋण सहकारी संस्था र सुदुरपश्चिमाञ्चल बहुउद्देश्यीय सहकारी संस्था रहेका छन् ।


यस्तै बैंकले पूर्व सञ्चालकहरु मध्येबाट मुकुन्द दाहाल, सहकारी बैंक विद्वता पुरस्कार डा.कृष्ण पौडेल, सहकारी बैंक पत्रकारिता पुरस्कार यादव हुमागाई, सहकारी अभियन्ता पुरस्कार दिपक प्रकाश बाँस्कोटालाई प्रदान गरेको छ ।
बैंकका ४४ शाखाहरु मध्ये उत्कृष्ट शाखाका रुपमा पोखरा शाखा, उत्कृष्ट कर्मचारीहरु तर्फ अधिकृत स्तरमा शान्ता गिरी, सहायक स्तरमा सुमित्रा क्षेत्री र सहयोगी स्तरमा विष्णुप्रसाद चौलागाईलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा पुरस्कार तथा सम्मानको घोषणा बैंकका सञ्चालक एवम् शिक्षा, तालिम तथा सम्मान उपसमितिका संयोजक सरिता भट्टराईले गर्नु भएको थियो ।

प्रकाशित : ४ पुष २०७६, शुक्रबार ०८:१६