बीमा समितिले गर्‍यो बैंकास्योरेन्स सम्झौता खारेज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बीमा समितिले गर्‍यो बैंकास्योरेन्स सम्झौता खारेज



काठमाडौं । बीमा समितिले बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीबीच हुँदै आएको बैंकास्योरेन्स सम्झौता खारेज गरेको घोषणा गरेको छ । समितिले बुधवार सम्पूर्ण बीमा कम्पनीहरूलाई परिपत्र जारी गर्दै यसअघि भएका बैंकास्योरेन्स सम्झौता खारेज गरेको जानकारी दिएको हो ।

मंसिर २२ गते ‘बीमकले सहकार्यमा बीमा व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने नीतिगत मार्गदर्शन, २०७६’ जारी गर्दै समितिले त्यस्ता संस्थाका ग्राहकलाई दिइने बीमा सुविधामा सीमा तोकेको थियो । सोही मार्गदर्शनको आधारमा विगतका बैंकास्योरेन्स सम्झौता सबै खारेज गर्ने निर्णय गरेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

उक्त मार्गदर्शनले निक्षेपकर्ता, ऋणी र बैंक सदस्यले बैंक, वित्तीय तथा सहकारी संस्थाबाट पाउने बीमा सुविधामा कडाइ गरेको ३ दिनभित्रै समितिले यसलाई खारेज गर्न निर्देशन दिएको हो । समितिले तत्कालै मार्गदर्शन अनुसार नयाँ सम्झौता गरेर मात्रै काम गर्न÷गराउन बीमा कम्पनीहरूलाई निर्देशन दिएको पौडेलले बताए ।

‘बैंकहरूले बैंक पनि बीमा पनि भनेर विज्ञापन गरिरहे । यसले बीमा व्यवसायमा असर पुगेको देखियो । यसकारण बीमालाई थप नियमित, व्यवस्थित र मर्यादित बनाउन यस्तो निर्देशन दिएका हौं,’ उनले भने । समितिसँग बैंक तथा वित्तीय संस्था तथा उनीहरूका ग्राहकलाई नियमन गर्ने अख्तियार भने छैन ।

त्यसैले समितिले बीमा कम्पनीहरूलाई सोही मार्गदर्शन बमोजिम बैंक तथा वित्तीय संस्थाका ग्राहकको बीमा गर्न निर्देशन दिएको थियो । हालसम्म बैंकहरूले बीमा कम्पनीहरूसँगको सहकार्यमा आफूखुशी ग्राहकलाई स्वास्थ्य, दुर्घटना तथा औषधोपचार बीमा सुविधा दिँदै आएका छन् । पौडेलका अनुसार अब बैंकहरूले मार्गदर्शन अनुसार मात्र आफ्ना ग्राहकलाई बीमा सुविधा दिनुपर्ने छ ।

प्रकाशित : २६ मंसिर २०७६, बिहीबार ०७:०८