१० अर्ब ३३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने राष्ट्र बैंकको तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

१० अर्ब ३३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने राष्ट्र बैंकको तयारी



काठमाडाै । राष्ट्र बैंकले १० अर्ब ३३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन, १८२ दिन र एक वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार ( भोली) जारी हुने ट्रेजरी बिलका लागि आज अपराह्न ३ बजे बोलकबोल हुनेछ ।

केन्द्रीय बैंकले ९१ दिनको लागि ४ अर्ब ३ करोड रुपैयाँको बिल जारी गर्न लागेको छ । यो ट्रेजरी बिल २०७६ पुस ८ गते परिपक्क हुनेछ । यस्तै, १८२ दिनको लागि जारी हुन ४ अर्ब ३० करोड रुपैयाँको ट्रेजरी बिल २०७६ चैत ११ गते परिपक्क हुनेछ । १ वर्ष अवधिका लागि जारी हुने २ अर्ब रुपैयाँको ट्रेजरी बिल २०७७ असोज ६ गते परिपक्क हुनेछ ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।

भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।

प्रकाशित : ६ आश्विन २०७६, सोमबार ११:५०