काठमाडौं । अहिले फोहोर व्यवस्थापन संसारकै सबैभन्दा ठूलो समस्या बनेको छ । नेपालमा पनि स्थानीय सरकारहरुलाई फोहोर व्यवस्थापन ठूलो चुनौती बनेको छ । अधिकांश फोहोर घरबाटै उब्जने हो । घरको फोहोर घरमै व्यवस्थापन गर्न सकियो भने फोहोर व्यवस्थापनको ठूलो हिस्सा पूरा हुनेछ ।
घरकै कुहिने फोहरको व्यवस्थापन गरि आफैले जैविक ग्याँस उत्पादन गरि प्रयोग गर्न सकिने गरि आधुनिक प्रविधिको ‘होम बायोग्याँस’ भित्रिएको छ ।
दुई दुरदर्शी युवा उद्यमी राम अग्रवाल र विपीन खेतानले खाना पकाउने इन्धन र अटोमोबाइलमा नवीकरणीय उर्जामा नयाँ सम्भावनाको खोजीका क्रममा यो प्रविधि नेपाल भित्र्याएका हुन् । क्लिन इनर्जी नेपाल मार्फत उनीहरूले खाना पकाउने गैर–नविकरणीय उर्जाको विकल्पको रुपमा होम बायोग्याँसको प्रबद्र्धन गरिरहेका छन् ।
होम बायोग्याँस, बायोग्याँसकै एक उन्नत प्रविधि भएको क्लिन इनर्जी नेपालले जनाएको छ । यसको प्रविधि, बनोट, प्रयोगमैत्री र प्रभावकारिताको हिसाबले नेपालमा गोबरग्याँसको रुपमा परिचित बायोग्याँसमा भन्दा फरक छ । होम बायोग्याँसबाट निर्माण हुने उर्जाको उपयोग गर्न विद्युतमा जस्तो ग्रिड प्रणाली नचाहिने क्लिन इनर्जी नेपालले उल्लेख गरेको छ ।
लागतको हिसाबले यो गोबरग्याँस प्रविधिभन्दा निकै सस्तो छ, बढीमा ६० हजार रुपैयाँमा यो प्रविधि स्थापना गर्न सकिन्छ ।
सबैभन्दा मुख्य फरक के हो भने होमबायोग्याँसले गोबर ग्याँसलेजस्तो ठाउँ ओगट्दैन । गोबरग्याँसको लागि ढलान ट्यांकी चाहिन्छ । होम बायोग्याँस भने घरभित्रै अटाउँछ । यसले बढीमा एउटा सोफाले लिने ठाउँ ओगट्छ । यो निर्माण गर्न मिस्त्री, इन्जिनियर कोही पनि चाहिँदैन । होम बायोग्याँसको सबै संरचना बनिबनाउ हुन्छ, जुन एउटा मध्यम आकारको प्याकेटमा अटाउँछ ।
प्रभावकारिताको हिसाबले पनि होमबायोग्याँस निकै अगाडि छ । खासगरी भान्साबाट निस्कने फोहोरमैला, गाईवस्तुको मलबाटै यसबाट ऊर्जा उत्पन्न हुन्छ । थोरै फोहोरबाट पनि एउटा परिवारलाई पुग्ने ऊर्जा उत्पन्न हुने भएकाले गाईवस्तु नपालिने शहरी क्षेत्रमा पनि यो उपयोगी छ ।
भान्सामा उत्पन्न हुने सड्ने फोहोरबाटै ऊर्जा उत्पन्न गर्न सकिन्छ । ऊर्जासँगै उत्पन्न हुने प्रांगरिक मलले घरमै तरकारी उब्जाउन सकिन्छ भने बजारमा बिक्री गरेर आर्थिक लाभ पनि गर्न सकिन्छ ।
अहिले पनि पोखरा महानगरपालिका लगायतका केही स्थानीय सरकारले बायोग्याँसका लागि अनुदान दिने गरेको छ । त्यो अभ्यास अरु स्थानीय सरकारले पनि गर्नु उपयुक्त हुनेछ ।
खाना पकाउने इन्धनको विकल्प धेरै भए पनि सहज, सुपथ र प्रभावकारी विकल्प भने कम छन् । अनविकरणीय उर्जाप्रतिको अत्याधिक निर्भरताले हामीलाई आर्थिक, वातावरणीय र स्वास्थ्य तीनै पक्षमा कमजोर बनाइरहेको छ । यो अघोषित संकटको अवस्था हो जसको विकल्प खोज्न गरिने थोरै पनि ढिलाई अकल्पनिय दुर्घटनाको निमन्त्रणा हुनेछ ।
२०७२ सालमा नेपालले उर्जाको गम्भिर संकट भोग्नुपरेको थियो । त्यतिबेला ग्याँस र मट्टितेलको लाम बस्नुपर्दा नेपाली जनताले त्यसको भरपर्दो विकल्प खोजेका थिए । घर–घरमा ग्याँस पाइप लाइन जोड्ने सपना देखेका थिए नेपालीले । होमबायोग्याँसले त्यो सपना पूरा गर्नसक्छ ।
अहिलेसम्म खेर गईरहेको र त्यसको व्यवस्थापनको लागि स्थानीय सरकारको चुनौती बनिरहेको फोहोर होमबायोग्याँसको माध्यमबाट उर्जा र अथोपार्जनको स्रोत बन्नसक्छ ।
बायोग्याँस प्रविधि नेपालमा सफलतापूर्वक अभ्यास भईरहेछ तर सरकारले यसमा दिनुपर्ने जति चासो दिएको छैन । जुन तदारुकता र उत्साह सरकारले देखाउनुपर्ने हो त्यो देखिँदैन । अहिले स्थानीय सरकारहरुलाई फोहोर व्यवस्थापन ठूलो चुनौती बनेको छ । झण्डै शुन्य लागतमा फोहोरबाट उर्जा र प्रांगरिक मल दिने यो प्रविधिलाई जनस्तरमा लोकप्रिय बनाउन सरकारले तदारुकता देखाउन जरुरी छ । महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरुले पनि होम बायोग्याँस जस्ता प्रविधिलाई प्राथमिकता दिनु आवश्यक भइसकेको छ ।
खाना पकाउने इन्धनको नवीरकणीय विकल्पको रुपमा होमबायोग्याँस ल्याएका यी दुई उद्यमीले उन्नत प्रकारको विद्युतीय कारका लागि पनि पहल गर्दैछन् । होमबायोग्याँस र विद्युतीय कारको प्रयोगले नेपाललाई छिट्टै नै कार्बनमुक्त देश बनाउन सकिनेछ ।
यसबाहेक पनि यी दुई उद्यमीले नवीकरणीय उर्जाको क्षेत्रमा नयाँ नयाँ सम्भावनाको खोजिगरिरहेका छन् । उनीहरुले विश्वभर वृक्षारोपणको अभियान थालेका अभियानकर्मी फेलिक्सलाई पछ्याएका छन् । नवीकरणीय उर्जाका नयाँ–नयाँ सम्भावनाको खोजी र प्रयोगबाट नेपाललाई ऊर्जामा आत्मनिर्भर र कार्बनमुक्त बनाउन सकिन्छ ।
Comment