काठमाडौँ । सरकारले थप ६ जना सचिवको सरुवा गरेको छ । पछिल्लो पटक बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नं १ का प्रमुख सचिव केदार न्यौपानेलाई काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको छ । प्रमुख प्रशासकीय अधिकृत यादव प्रसाद कोइरालाको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवको रूपमा सरुवा भएसँगै रिक्त महानगरमा न्यौपानेलाई ल्याइएको हो ।
यसै गरी हरि बस्याललाई गण्डकी प्रदेशको सचिवमा पदस्थापन गरिएको छ भने कर्णाली प्रदेशका प्रमुख सचिव रामप्रसाद थपलियालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सरुवा गरिएको छ ।
त्यस्तै महिला आयोगका अनिल ठाकुरलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । कर्णाली प्रदेशको प्रमुख सचिवमा केवल प्रसाद भण्डारीलाई पठाइएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका वरिष्ठ सहसचिव सुरेश अधिकारीलाई कामु सचिव बनाई प्रदेश नं १ को प्रमुख सचिवको जिम्मेवारी दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
Comment