काठमाडौं । नेपाल बार एसोसिएशनको नेतृत्वको लागि अध्यक्षका प्रत्यासीद्वय चण्डेश्वर श्रेष्ठ र सुनिल पोखरेल दुवैले आ–आफ्नो जीतको दाबी गरेका छन् ।नेकपाका तर्फबाट श्रेष्ठ नेतृत्वको प्यानल चुनावी मैदानमा छ भने काँग्रेसको तर्फबाट पोखरेल नेतृत्वको प्यानल चुनावी मैदानमा छ ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले बारको निर्वाचनको पूर्वसन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै अध्यक्षका प्रत्यासीद्धय श्रेष्ठ र पोखरेलले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका हुन् ।
प्रगतिशील, पेशागत तथा समावेशी कानुन व्यवसायी समूहबाट अध्यक्षका प्रत्यासी श्रेष्ठले आफूहरुले ‘संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास हाम्रो सरोकार : स्वतन्त्र, सक्षम, निष्पक्ष र भ्रष्टाचारमुक्त न्यायपालिकाका लागि व्यवसायिक बार’ भन्ने मूल नारा दिएको सुनाए ।
उनले न्यायापालिकामा देखिएको विकृति, विसंगति तथा भ्रष्टाचारलाई नियन्त्रण गर्ने सुनाए । विधिको शासन, मानवअधिकारको रक्षा र पेशागत हकहितको लागि आफूले काम गर्ने श्रेष्ठको प्रतिबद्धता छ ।
स्वतन्त्र न्यायपालिका बनाउनको लागि बारले सहकार्य र खबरदारीको दुवै भूमिका निर्वाह गर्ने पनि उनले सुनाए । त्यस्तै, न्यायपालिकालाई स्तरीय बनाउनको लागि न्याय परिषदमार्फत मूल्यांकन गर्ने र डाटावेशमा लैजाने उनले आफ्नो योजना सुनाए ।
कानुन व्यवसायीहरुको पेशागत हकहित र व्यवसायिक सुरक्षाको लागि पनि आफूले गम्भीर पहलकदमी लिने सुनाउँदै श्रेष्ठले ‘लयर्स एकेडेमिक एक्ट’ ल्याउने जनाए । उनले भने, ‘व्यवसायमा आउने नवोदित साथीहरुको पक्षमा हामी र्छौं । व्यवसायमा देखिएका सबैखाले समस्याको समाधानको लागि म सक्रियताका साथ लागिपर्छु ।’
त्यस्तै बृहत्त लोकतान्त्रिक, समावेशी तथा पेशागत समूहबाट अध्यक्षका प्रत्यासी सुनिल पोखरेलले आफ्नो प्यानलले ‘स्वतन्त्र, सक्षम, भ्रष्टाचारमुक्त र निर्भिक न्यायपालिकाको स्थापनाका लागि बृहत लोकतान्त्रिक प्यानलको जित’ भन्ने नारा तय गरेको सुनाए ।
पोखरेलले यसपटकको निर्वाचन नेतृत्वकेन्द्रित नभएर नीति केन्द्रित हुने स्पष्ट पारे । न्यायापालिकामा रहेका विकृति सुधार्नु नै आफ्नो प्रमुख लक्ष्य भएको उनको भनाई छ ।
उनले आफूले बारको भीजन र मिशनलाई अघि बढाउने पनि प्रतिबद्धता जनाए । उनले न्यायालयमा निर्देशित र नियन्त्रित शासन व्यवस्था हटाउन, स्वतन्त्र न्यायापालिकाको रक्षा गर्न, कानून व्यवसायीको मर्यादाको स्तरोन्नति तथा न्यायपालिकालाई विकृतिविहीन बनाउन ‘जुडिसिएल ट्रेन्ड एनालाइसिस’को शुरूआत गर्न आफूले उम्मेदवारी दिएको र जीत सुनिश्चित रहेको दाबी गरे ।
आफूले देशभरिका कानून व्यवसायीहरुको हकहित संरक्षण गर्ने र मर्यादाक्रम कायम गर्ने पनि उनले सुनाए । त्यस्तै, बार काउन्सिललाई प्रभावकारी बनाउने र बारलाई पारदर्शी बनाउने पनि पोखरेलले योजना सुनाए ।
Comment