काठमाडौं । उच्च माध्यमिक शिक्षक एशोसियसन (हिस्टान) बैतडीले केन्द्रीय कार्यक्रम अनुसार १० वटै स्थानीय तहका प्रमुखमार्फत शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीलाई ध्यानाकर्षणपत्र पठाएको छ ।
साविकका उच्च माविमा कार्यरत देशभरका चार हजार शिक्षकलाई दरबन्दीमा रुपान्तरण गरी व्यवस्थापन गर्नुपर्ने, उमावि तहमा थप दरबन्दीको व्यवस्था गर्नुपर्ने, दरबन्दी तथा अनुदानमा कार्यरत शिक्षकलाई कम्तीमा एकपटकका लागि माध्यमिक शिक्षक द्वितीय श्रेणीमा आन्तरिक परीक्षामबाट स्थायी गर्नुपर्नेलगायतका माग रहेको हिस्टानका जिल्ला सचिव राजेन्द्रप्रसाद जोशीले जानकारी दिए ।
यसैबीच पुरचौंडी नगरपालिकामा शिक्षक वासुदेव पन्तको अध्यक्षतामा नगरस्तरीय सामुदायिक विद्यालय निजी स्रोत शिक्षक तदर्थ समिति गठन भएको छ । नगरपालिकाभित्र रहेका निजी स्रोतका शिक्षकको हकहितका लागि समिति गठन गरिएको हो ।
राजनीतिक खिचातानीले दुई वर्षदेखि गठन हुन नसकेको विद्यालय व्यवस्थापन समिति आइतबार गठन भएको छ ।
दशरथचन्द नगरपालिका वडा नं १ मा रहेको मणिलेक मावि गुरुखोलामा लामो समयपछि विद्यालय व्यवस्थापन समिति गठन नभएकामा वडा नं १ का वडाध्यक्षसमेत रहेका भुवनराज भट्टको अध्यक्षतामा सो समिति गठन गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिमा युवाको टोली आएकाले विद्यालयमा प्राविधिक शिक्षाको थालनी साथै नमूना विद्यालय बनाउने समितिका सदस्य अमरबहादुर टेरले जानकारी दिए ।
यस्तै अभिभावकहरूको एक भेलाले लक्ष्मीप्रसाद भट्टको अध्यक्षतामा शिक्षक अभिभावक संघसमेत गठन गरेको छ । रासस
Comment