सोलु–दूधकोसी जलविद्युत् आयोजनाले आइपिओ जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सोलु–दूधकोसी जलविद्युत् आयोजनाले आइपिओ जारी गर्ने



सोलुखुम्बु  । मुलुककै सबैभन्दा ठूलो ८६ मेगावाट क्षमताको सोलु–दूधकोसी जलविद्युत् आयोजनाले आइपिओ जारी गर्ने तयारी गरेको छ । स्वदेशी निजी क्षेत्रको लगानीबाट सोलुखुम्बुमा निर्माण गर्न लागिएको आयोजनाले आइपिओ जारी गर्ने भएको हो।

आयोजना निर्माणकर्ता कम्पनी साहस ऊर्जा लिमिटेडको वार्षिक साधारण सभाले आइपिओ जारी गर्ने निर्णय गरेको हो। जम्मा ६० प्रतिशत संस्थापक सेयर र बाँकी साधारण सेयर वितरण हुनेमा साधारण सेयरको १० प्रतिशत प्रभावित क्षेत्रका स्थानीयले मात्र पाउने र २० प्रतिशत सेयर सर्वसाधारणलाई प्रदान गर्ने आयोजनाको तयारी रहेको कम्पनीका कार्यकारी अध्यक्ष हिमप्रसाद पाठकले जानकारी दिए।

आयोजनाले सोलुखुम्बुको सोलु–दूधकुण्ड नगरपालिकामा पर्ने तिङ्लाबाट सुरुङ मार्ग खन्नेछ भने सुरुङमार्ग थुलुङ दूधकोसी गाउँपालिकास्थित पञ्चनको मैकुबेसी जलप्रवाह पुर्याइने छ । पाठकले भने, ‘स्थानीय तथा सर्वसाधारणलाई सेयर जारी गर्न लागेका छौं।’
हाइड्रो भेन्चर प्रालिले साहस ऊर्जाको शतप्रतिशत लगानीमा निर्माण गर्न लागेको ८६ मेगावाटको जलविद्युत् आयोजनाले अति प्रभावित गाविसका रुपमा सल्यान, पञ्चन, नेचाबेतघारी, कांगेल र तिङ्ला गरी पाँच गाविसका स्थानीयलाई अघिल्लो वर्ष प्रतिघर न्यूनतम १० हजार रुपैयाँदेखि अधिकतम २० हजार रुपैयाँसम्मको संस्थापक सेयर वितरण गरिसकेको छ।

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने कार्ययोजना बनाइएको आयोजनाको अहिले सुुरुङ निर्माण कार्य सुरु भएको छ । आयोजनाले सबैभन्दा कम लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । आयोजनाको कुल लागत ११ अर्ब ८६ करोड रुपैयाँ रहेको छ भने आयोजनाले वार्षिक ४०९.४५ गिगावाट आवर विद्युत् उत्पादन गर्ने छ । यसमध्ये सुक्खायाममा १०१ प्रतिशत र बाँकी वर्षायाममा विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ।

२०७७ को असोजभित्र निर्माण पूरा गर्ने लक्ष्य राखिएको आयोजनामा ४।५ किलोमिटर लामो सुरुङ निर्माणको काम सुरु भएको छ । आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पिपिए) समेत गरिसकेको छ ।

आयोजनाबाट उत्पादित बिजुली १०.५ किलोमिटर लामो डबल सर्किट प्रसारण लाइनमार्फत तिङ्ला गाविसको सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।आयोजना निर्माणका लागि नेपाल इन्भेस्टमेन्ट बैंकको नेतृत्वमा ११ बैंक तथा वित्तीय संस्थाले आठ अर्ब ६५ करोड रुपैयाँ (७३ प्रतिशत) ऋण लगानी सम्झौता भएको छ।

जसमा इन्भेस्टमेन्टको एक अर्ब ५० करोड ऋण लगानी रहने आयोजनामा जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) को ९० करोड तथा राष्ट्रिय वाणिज्य, कृृषि विकास, एनसीसी, सेन्चुरी कमर्सियल, सानिमा, एनआईसी एसिया, र सनराइज विकास बैङ्कको ७५/७५ करोड लगानी रहने यस्तै, प्रभु र सिभिल बैङ्कको ५०/५० करोड ऋण लगानी रहने छ भने आयोजनामा २७ प्रतिशत सेयरधनीबाट तिन अर्ब २१ करोड लगानी हुने आयोजनाले जनाएको छ।

प्रकाशित : 24 April, 2018 10:55 am