करदाता प्रोत्साहन कार्यक्रमका १६ विजेता छानिए, बम्परमा १० लाख « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

करदाता प्रोत्साहन कार्यक्रमका १६ विजेता छानिए, बम्परमा १० लाख



काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत कात्तिक १ देखि १५ गतेसम्मको अवधिका १६ जना विजेता छनोट गरेको छ । सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा एक जना बम्पर उपहार विजेता र १५ जना दैनिक उपहार विजेताको घोषणा गरिएको हो ।

विभागका अनुसार बम्पर उपहारका लागि कुपन नम्बर ०९८०४६५५८१७५ छनोट भएको छ । उक्त कुपनका विजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यसैगरी, दैनिक उपहारतर्फ १५ जना विजेता छनोट भएका छन् । उनीहरू प्रत्येकले १ लाख ३३ हजार ३३४ रुपैयाँका दरले उपहार रकम पाउनेछन् ।

सरकारले उपभोक्तालाई खरिद गर्दा बिल लिने र त्यसमा उल्लेखित विवरण सम्बन्धित प्रणालीमा दर्ता गर्ने बानीको विकास गराउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

बिलमा रहेको विवरण प्रणालीमा दर्ता गरेपछि उपभोक्ता उपहार योजनामा सहभागी हुन पाउँछन् । यस कार्यक्रममार्फत कर प्रणालीमा सर्वसाधारणको सहभागिता बढाउने र करसम्बन्धी सचेतना अभिवृद्धि गर्ने सरकारको लक्ष्य छ ।

प्रकाशित : 2 November, 2026 2:57 pm