मोफसलका ब्रोकर कार्यालयमा लगानीकर्ताको भीड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मोफसलका ब्रोकर कार्यालयमा लगानीकर्ताको भीड



बुटवल । प्रदेश नं ५ को राजधानी बुटवलमा सेयर बजारको कारोबार फष्टाउँदै गएको छ। व्यापारिक केन्द्र मानिएको बुटवलमा ब्रोकर (सेयर दलाल) कार्यालय स्थापना भएपछि सेयर खरिद तथा बिक्रीका लागि लगानीकर्ताको चाप ह्वात्तै बढेको आर्यनतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरटिज प्राली ५७ नं ब्रोकर कार्यालयका प्रमुख टेकराज भट्टराइले जानकारी दिए ।

’हामीले सेयर साक्षरता र काउन्सिलिङको क्षेत्रमा नै धेरै काम गर्यौँ,’ उनले भने, ‘सेयर बजारमा कारोबार गर्न रुपन्देहीका विभिन्न गाउँपालिका र नगरपालिकाबाहेक प्रदेश नं ५ को परासी, गुल्मी, पाल्पा, अर्घाखाँचीलगायतका स्थानबाट बुटवलमा रहेका विभिन्न ब्रोकर कार्यालयमा सेयर लगानीकर्ताको भीड लाग्ने गरेको छ ।’

 

भट्टराईले सेयर बजारमा महिला सहभागिता पनि उल्लेख्य भएको जानकारी दिँदै वाणिज्य बैंक र इन्स्योरेन्सको सेयर खरिदमा लगानीकर्ताको चाप बढी भएको बताए। ’सुधारको अवस्थामा रहेको अहिलेको सेयर बजार कता जान्छ भन्नसक्ने अवस्था छैन तर दुई दिनको परिसूचकले सकारात्मक बाटो लिएको छ,’ उनले भने।

भट्टराईले दीर्घकालीनरुपमा लगानी गर्नेलाई अहिलेको बजारको समय सदुपयोग गर्न आग्रह गर्दै सेयर लगानीकर्ताको मनोबल पनि बढ्दै गएको बताए। बैंकको ब्याज दर र बैकिङ तरलताले सेयर बजार प्रभावित भएको अनुमान गर्दै उनले नयाँ लगानीकर्तालाई बुझेरमात्रै लगानी गर्न अनुरोध गरेको उनले बताए।

बुटवलमा आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरटिज प्राली ५७ नं ब्रोकरसहित दक्षिणकाली इन्भेष्टमेन्ट सेक्युरिटिज प्राली ३३ नं, लिन्च सेक्युरिटिज ४१ नं, एसियन सेक्युरिटी २६ नं र मिडास सेक्युरिटिजी २२ ब्रोकर कार्यालयले पनि सेयर खरिद तथा बिक्रीको काम गर्दै आएका छन् ।

आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरटिज प्राली ५७ नं ब्रोकर कार्यालय बुटवलका अनुसार यो साता चार दिनको अवधिमा एक करोड ६८ लाख ३७ हजार दुईसय रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने गत साता एक करोड १० लाख ६२ हजार ३५६ बराबरको सेयर कारोबार भएको थियो ।

त्यस्तै दक्षिणकाली इन्भेष्टमेन्ट सेक्युरिटिजका प्रमुख शंकर अधिकारीले यो साता चार दिनमात्रै ५२ लाख २९ हजार १५८ बराबरको सेयर कारोबार भएको जानकारी दिए। गत साता सो कार्यालयले ३३ लाख ३४ हजार ८२४ बराबरको सेयर कारोबार गरेको थियो।

गत चैत १२ गतेदेखि बुटवलमा ब्रोकर कार्यालय स्थापना भएका थिए। ब्रोकर कार्यालय स्थापनापछि सेयर खरिद तथा बिक्रीका लागि हितग्राही (डिम्याट) खाता खोल्नेको संख्या पनि बढेको छ । रासस

प्रकाशित : २७ फाल्गुन २०७४, आईतवार १७:२६