पेसागत प्रतिनिधित्वको दाबी गर्दै पवन अधिकारी, कांग्रेस महाधिवेशन प्रतिनिधिको दौडमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

पेसागत प्रतिनिधित्वको दाबी गर्दै पवन अधिकारी, कांग्रेस महाधिवेशन प्रतिनिधिको दौडमा



विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सुनसरी क्षेत्र नं. २ बाट पेसागत कोटातर्फ महाधिवेशन प्रतिनिधिका लागि पवन अधिकारीले दाबी प्रस्तुत गरेका छन् । दुई दशक लामो पत्रकारिता अनुभव, पत्रकारिता क्षेत्रको नेतृत्वदायी भूमिका र सार्वजनिक संस्थामा काम गरेको अनुभवलाई आधार बनाउँदै अधिकारीले महाधिवेशन प्रतिनिधिमा आफ्नो दाबी अघि सारेका हुन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै उनले पेसागत क्षेत्रबाट प्रतिनिधित्वको आकाङ्क्षा व्यक्त गरेका हुन् । १४औँ महाधिवेशनमा पनि महाधिवेशन प्रतिनिधिका उम्मेदवार रहेका अधिकारी यस पटक पनि उम्मेदवारको दाबी गर्दै अघि बढेका छन् ।

अधिकारी १४औँ महाधिवेशनमा झिनो मतान्तरले पराजित भएका थिए । अघिल्लो महाधिवेशनको अनुभव र त्यस बेला प्राप्त मतलाई आफ्नो राजनीतिक यात्राको महत्त्वपूर्ण आधारका रूपमा लिएका उनले यस पटक पनि पेसागत क्षेत्रबाट प्रतिनिधित्वको दाबी गरेका हुन् ।

नेपाल प्रेस युनियन सुनसरीका पूर्व अध्यक्षसमेत रहेका अधिकारी पत्रकारिता क्षेत्रबाट नेपाली काँग्रेसको सङ्गठनात्मक राजनीतिमा सक्रिय रहँदै आएका छन् । पत्रकारितामा लामो समय बिताएका उनले सञ्चार क्षेत्रका समस्या, पत्रकारका पेसागत सवाल तथा आमनागरिकका मुद्दालाई नजिकबाट बुझ्ने अवसर पाएका छन् ।

पत्रकारिता क्षेत्रमा रहेर समाजका विभिन्न वर्ग र समुदायका आवाजलाई सार्वजनिक बहसमा ल्याउँदै आएका अधिकारीले महाधिवेशन प्रतिनिधिका रूपमा पनि पेसागत क्षेत्रको अनुभवलाई पार्टीको नीतिगत छलफलमा जोड्न सक्ने आधार प्रस्तुत गरेका छन् । अधिकारीले दुई दशकभन्दा लामो समय पत्रकारिता क्षेत्रमा बिताएका छन् । यस अवधिमा उनले समाजका विभिन्न विषय, नागरिकका समस्या र सार्वजनिक सरोकारका मुद्दालाई समाचारका माध्यमबाट उठाउँदै आएका छन् ।

पत्रकारिताको मूल मर्मअनुसार समाजका भुइँमान्छेका कथा, उनीहरूले भोगिरहेका समस्या र राज्यका निकायसम्म पुग्न नसकेका आवाजलाई सार्वजनिक बहसमा ल्याउने काममा आफू संलग्न रहेको उनको पेसागत पृष्ठभूमि छ । 

पत्रकारितामा लामो समय बिताएका अधिकारीले सञ्चार क्षेत्रका चुनौती, पत्रकारको पेसागत सुरक्षा, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सूचनाको हकजस्ता विषयलाई नजिकबाट अनुभव गरेका छन् । पत्रकारिता क्षेत्रको यही अनुभवलाई उनले पार्टीको महाधिवेशनमा पेसागत प्रतिनिधित्वको आधार बनाएका छन् ।

पेसागत कोटाबाट महाधिवेशन प्रतिनिधि चयन गर्दा पार्टी नेतृत्वले सम्बन्धित क्षेत्रमा गरेको योगदान, अनुभव र सक्रियतालाई प्राथमिकता दिनुपर्ने अधिकारीको धारणा छ । पत्रकारिता क्षेत्रबाट पार्टी र समाजमा योगदान पु¥याएका व्यक्तिको अनुभवलाई महाधिवेशनमा प्रतिनिधित्व गराउनु आवश्यक रहेको उनको भनाइ छ । प्रेस युनियन काँग्रेसको शुभेच्छुक संस्था भएकाले पनि पत्रकारिता क्षेत्रबाट हुने प्रतिनिधित्व महत्त्वपूर्ण रहेको अधिकारीको बुझाइ छ ।

विज्ञापन बोर्डको सदस्यसम्मको जिम्मेवारी

पत्रकारितासँगै विज्ञापन क्षेत्रको नीतिगत तथा संस्थागत जिम्मेवारीमा समेत अधिकारीले काम गरिसकेका छन् । उनी नेपाल सरकारको मन्त्री स्तरीय निर्णयबाट विज्ञापन बोर्डको सदस्यमा नियुक्त भएका थिए । विज्ञापन बोर्डको सदस्यका रूपमा जिम्मेवारी सम्हाल्नु उनको पेसागत यात्राको अर्को महत्त्वपूर्ण पक्ष हो ।

सञ्चारमाध्यम, विज्ञापन बजार र सार्वजनिक सञ्चार नीतिसँग सम्बन्धित विषयमा काम गर्ने अवसर पाएका अधिकारीले यस क्षेत्रको अनुभवसमेत बटुलेका छन् ।

त्यसअघि उनी नेपाल विज्ञापन सङ्घ कोशी प्रदेशका अध्यक्षसमेत भइसकेका छन् । पत्रकारिता र विज्ञापन क्षेत्र दुवैमा काम गरेको अनुभवका कारण सञ्चार क्षेत्रका विभिन्न पक्षसँग उनको व्यावसायिक सम्बन्ध रहँदै आएको छ ।

पत्रकारिता, सञ्चार क्षेत्रको सङ्गठनात्मक नेतृत्व र विज्ञापन क्षेत्रको संस्थागत जिम्मेवारीमा प्राप्त अनुभवलाई अधिकारीले आफ्नो उम्मेदवारीको आधारका रूपमा प्रस्तुत गरेका छन् । अधिकारीको दाबीलाई पार्टीको स्थानीय नेतृत्वले कसरी सम्बोधन गर्छ भन्ने विषय भने महाधिवेशन प्रतिनिधि चयनको प्रक्रियासँग जोडिएको छ । पेसागत क्षेत्रबाट पार्टीमा योगदान पु¥याएका अधिकारीको दाबीले सुनसरी क्षेत्र नं. २ मा महाधिवेशन प्रतिनिधि चयनको बहसलाई थप चासोपूर्ण बनाएको छ ।

प्रकाशित : 27 September, 2026 8:37 am