यस्ता छन् कृषिमा आत्मनिर्भर बनाउने मन्त्री चक्रपाणिका योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

यस्ता छन् कृषिमा आत्मनिर्भर बनाउने मन्त्री चक्रपाणिका योजना



काठमाडाै । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने बताएका छन् । मन्त्री खनालले आइतबार सिंहदरबारमा कृषि क्षेत्रको सुधारका लागि आवश्यक ५८ बुँदे मार्गचित्र सार्वजनिक गर्दैजनताको विकास र समृद्धिको चाहनालाई पूर्णता दिने गरी कृषि, पशुपंक्षी, भूमि र सहकारी क्षेत्रको गुणात्मक विकासमा केन्द्रित हुने बताए ।

मार्ग चित्रमा खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको सुनिश्चितताका लागि मुलुकको संघीय शासन संरचना अनुकूल हुनेगरी आवश्यक नयाँ नीति तथा ऐनको तर्जुमा गरिने जानकारी दिए । त्यसैगरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालगायत कृषि, पशुपंक्षी क्षेत्रबाट सञ्चालित अन्य परियोजना तथा कार्यक्रमका दस्तावेजहरुको समायानुकूल परिमार्जन गरिनेछ । मन्त्री खनालले किसान आयोगलाई समेत समयसापेक्ष बनाउने योजना अघि सारिएको स्पष्ट पारे ।मन्त्री खनालले कृषि उपजको व्यवस्थित भण्डारणका लागि ७ वटै प्रदेशमा सार्वजनिक-निजी-सहकारी क्षेत्रको सहभागितामा कम्तिमा १ लाख मेट्रिक टन क्षमताका ठूला गोदाम घर स्थापना गरिने बताए ।

स्थानीय, प्रदेश र संघ सबै तहमा तथ्यांक व्यवस्थापनका लागि सूचना प्रणाली स्थापना गर्ने योजना पनि सरकारले अघि सारेको छ ।

कृषि उत्पादन वृद्धिका लागि सघन कृषि विकास कार्यक्रम संचालन गरिनेछ । मार्गचित्रमा भूगोल सुहाउँदो कृषि यान्त्रिकीकरण गर्ने, सबै स्थानीय तहको माटोको उर्वराशक्ति नक्सा तयार परेर मात्रै खेती गर्ने पनि उल्लेख गरिएको छ । मन्त्री खनालले माटोको उर्वराशक्ति स्तरोन्नतिका लागि एकीकृत खाद्यतत्व व्यवस्थापन तथा गोठेमल सुधार कार्यक्रमलाई अभियानका रुपमा संचालन गर्ने योजना पनि अघि सारिएको बताए ।

प्रकाशित : २३ बैशाख २०७५, आईतवार १५:०१