७.५ प्रतिशत शेयर लाभांश पारित गर्दै सयपत्री साकोसको २६औँ साधारण सभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

७.५ प्रतिशत शेयर लाभांश पारित गर्दै सयपत्री साकोसको २६औँ साधारण सभा सम्पन्न



काठमाडौं । सयपत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष कृष्णबन्धु अर्यालको अध्यक्षता तथा शेयर सदस्य एवं लुम्बिनी प्रदेशका पूर्वमन्त्री खडक बस्नेतको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो।

सुनवल नगरपालिकामा सञ्चालित सयपत्री बचत तथा ऋण सहकारी संस्था २०५७ सालमा स्थापना भएको हो। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) बाट २०८१ सालमा देशभरकै सर्वोत्कृष्ट साकोसका रूपमा सम्मानित भएको संस्थाले लगातार तीन पटक प्रोबेसन ब्रान्ड प्राप्त गर्न सफल भएको जनाएको छ।

संस्थाका अनुसार हाल ३ हजार ४ सय ९५ शेयर सदस्य रहेका छन् भने संस्थाको कुल पूँजी ५३ करोड ७६ लाख ७७ हजार रुपैयाँ रहेको छ।

साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि बस्नेतले सहकारीले उत्पादनमूलक क्षेत्रमा सक्रिय शेयर सदस्यलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे। सहकारीले ऋण माग्ने सदस्य मात्र नभई उत्पादन तथा व्यवसायमा संलग्न सदस्यको पहिचान गरी त्यस्ता क्षेत्रमा लगानी गर्नुपर्ने उनले बताए।

सहकारी संस्थाहरूले वित्तीय कारोबारसँगै समाजमा सद्भाव कायम गर्ने तथा विकास निर्माणका काममा समेत योगदान गर्नुपर्ने बस्नेतको भनाइ थियो।

संस्थाको अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष अर्यालले मुलुकमा व्याप्त आर्थिक सुस्तताका कारण नागरिकमा देखिएको निराशा र सहकारीप्रतिको घट्दो विश्वासलाई क्रमशः पुनःस्थापित गर्दै संस्था सफल, सक्षम र सबैको विश्वासयोग्य संस्थाका रूपमा अघि बढिरहेको बताए।

संस्थाका सबै सूचकमा सदस्यहरूको उल्लेख्य सहभागिता सुनिश्चित गर्दै संस्थालाई हालको अवस्थामा ल्याउन सफल भएको उनले बताए।

त्यस्तै, सचिव मुरलीधर गौतमले प्रस्तुत गरेको प्रतिवेदनअनुसार संस्थाको कुल बचत ४१ करोड १४ लाख ५२ हजार ७ सय ९६ रुपैयाँ रहेको छ भने कुल ऋण लगानी ३९ करोड ५६ लाख २८ हजार ८ सय ६८ रुपैयाँ रहेको छ।

गत वर्षको नाफाबाट शेयर लाभांशका लागि ४१ लाख ६१ हजार ५ सय ४८ रुपैयाँ विनियोजन गरिएको छ। सदस्यहरूको कारोबारका आधारमा वितरण गरिने संरक्षित पूँजी फिर्ता कोषमा २१ लाख ४८ हजार ४ सय ५० रुपैयाँ रहेको सचिव गौतमले जानकारी दिए।

यस वर्ष सदस्यलाई वितरणयोग्य शेयर लाभांश ७.५० प्रतिशत कायम गरिएको उनले बताए।

कोषाध्यक्ष भीमसिंह बि.क.ले प्रस्तुत गरेको प्रतिवेदनअनुसार संस्थाले आर्थिक वर्ष २०८२/८३ मा १ करोड २३ लाख ७० हजार ८३ रुपैयाँ खुद नाफा गर्न सफल भएको छ।

त्यसैगरी, चालु आर्थिक वर्ष २०८३/८४ का लागि संस्थाको प्रस्तावित कुल पूँजी ५८ करोड ३० लाख रुपैयाँ र अनुमानित खुद नाफा १ करोड ६१ लाख ४५ हजार २ सय ५० रुपैयाँ हुने अनुमानसहित आय–व्ययको विवरण प्रस्तुत गरिएको थियो।

लेखासुपरिवेक्षण समितिका संयोजक बिष्णुप्रसाद सुबेदी आफ्नो प्रतिवेदन प्रतिबेदन प्रस्तुत गर्दै सहकारी अभियानको यस विषम परिस्थितिमा पनि संस्थाले स्थानिय,प्रदेश एवम् राष्ट्रिय स्तरका सबैजसो अवार्डहरु प्राप्त गरिसकेकोले एसियाली स्तरको गुणस्तरीय एक्सेस ब्रान्डप्राप्तीको शुभकामना दिनुभयो ।

कार्यक्रममा शेयर सदस्य तथा जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष विष्णुप्रसाद पौडेल, सुनवल नगर सहकारी सञ्जालका अध्यक्ष दयाराम भण्डारी, जिल्ला सहकारी संघका अध्यक्ष राजन आचार्य र संस्थाका निवर्तमान उपाध्यक्ष रमेश कर्माचार्यलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा बोल्ने वक्ताहरूले सरकारले सहकारीहरूलाई ‘घाँटीमा दाम्लो लगाएर तान्दै–तान्दै जबरजस्ती लतार्ने’ काम गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। कानुनमा नभएका विषयसमेत निर्देशनमार्फत लागू गरिएको भन्दै उनीहरूले त्यसप्रति आपत्ति जनाएका थिए।

साधारण सभाका अवसरमा शैक्षिक क्षेत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थी, उत्कृष्ट बचतकर्ता, ऋणी तथा ज्येष्ठ सदस्यलगायतलाई सम्मान गरिएको थियो।

संस्थाका उपाध्यक्ष कमला थापा क्षेत्रीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव मुरलीधर गौतमले गरेका थिए।

प्रकाशित : 27 September, 2026 7:24 am