काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्।
आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले विपद् जोखिम न्यूनीकरणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले अति उच्च जोखिममा रहेका हिमतालको जलस्तर घटाउन गृहकार्य गरिरहेको जानकारी दिए।
उनले भने, ‘जोखिममा रहेका हिमतालहरु ब्लास्टिङ गरेर जलसतह पास गर्नेगरी छलफल अघि बढेको छ। जोखिमपूर्ण हिमतालको पानी वैज्ञानिक हिसाबले पास गरेर जोखिममुक्त गर्नैपर्छ। विपद् जोखिमको पूर्वतयारीमा हामी गम्भीर छौं। तयारी सकिएपछि निर्णय लिनेछौं।’
मन्त्री श्रेष्ठले कुन कुन ताल फुटाउने भनेर टुंगो नलागिसकेको बताउदै भने, ‘विज्ञहरुसँग परामर्श लिँदैछौं। छलफलमा धेरै तालहरुको नाम विज्ञहरुबाट आएको छ। अध्ययन गरिरहेका छौं। जोखिमको मात्रा हेरेर पानीको सतह घटाउने निर्णय लिन्छौं।’
मन्त्री श्रेष्ठकाअनुसार ग्रिन क्लाइमेट फण्ड (जीसीएस) बाट प्राप्त सहयोग परिचालन गरेर विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय तहसँग मिलेर जोखिमपूर्ण हिमतालको पानीको सतह घटाउने कार्य यही वर्ष अगाडि बढाइनेछ।
इसिमोड र युएनडिपीको संयुक्त अध्ययनअनुसार नेपालमा २१ वटा हिमताल जोखिमयुक्त छन् भने कोशी र गण्डकी क्षेत्रमा चार वटा अति उच्च जोखिमयुक्त हिमताल रहेका छन्।








Comment