काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रसुवामा आएको विनाशकारी बाढीले जिल्लाका आम नागरिक बाँच्ने मुख्य आधार नै समाप्त पारेको बताएका छन् ।
शुक्रबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)को कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले बाढीले रसुवाको सामाजिक, आर्थिक तथा मानवीय संरचनामा ठूलो क्षति पुर्याएको बताए । उनले विपद्का कारण रसुवा २० देखि ३० वर्ष पछाडि धकेलिएको र एउटा पुस्ता नै सखाप भएको टिप्पणी गरे ।
यो विपद्ले रसुवाको आम जनता जुन आधारमा पछिल्लो समय रसुवा पर्यटन तथा व्यापारको महत्वपूर्ण केन्द्रका रूपमा विकास हुँदै गएको र रोजगारीका लागि धेरै जिल्लाका मानिसहरू त्यहाँ पुग्न थालेको बताए । तर, बाढीले त्यही आधारलाई ध्वस्त पारेको उनको भनाइ छ ।
उनले भने, ‘मैले यति ठूलो विपद् देखेको थिइनँ। यो विपद्को सामाजिक पाटोबाट हेर्ने हो भने रसुवालाई २०–३० वर्ष धकेल्यो यसले। एउटा पुस्ता नै यसले सखाप बनाएको छ। किनकि त्यहाँ यति ठूलो पर्यटन र व्यापारको हब हुन थाल्यो कि धेरै जिल्लाका मानिसहरू काम गर्न जान थाले। यस्तो अवस्थामा यो विपद्ले रसुवाका आम जनता जुन आधारमा बाँचिरहेका थिए, त्यो आधार सम्पूर्ण समाप्त गरेको छ।’
उनका अनुसार बाढीका कारण रसुवाको भविष्य नै संकटमा परेको छ। मानवीय तथा सामाजिक दृष्टिकोणबाट हेर्दा यो रसुवाका लागि अत्यन्त ठूलो विपद्का रूपमा आएको उनले बताए।
उनले भने,‘यति ठूलो विपद् यो मानवीय र सामाजिक दृष्टिकोणले हेर्ने हो भने यो विपद् रसुवाको लागि एकदमै ठूलो विपद्का रूपमा आएको छ । जुन अवस्थामा चिलिमे आउनुअगाडि रसुवा थियो, त्यही अवस्थामा पुर्याएको मलाई महसुस भएको छ।’
घिसिङले बाढीका कारण रसुवाका प्राविधिक जनशक्तिसमेत ठूलो रूपमा प्रभावित भएको बताए । चिलिमे जलविद्युत् आयोजना निर्माणका क्रममा छात्रवृत्ति दिएर पढाइएका स्थानीय प्राविधिक जनशक्तिसमेत अहिलेको विपद्बाट प्रभावित भएको उनको भनाइ छ ।
उनले भने, ‘रसुवाको टेक्निकल मानिसहरू करिब समाप्त नै भएको छ । चिलिमे बनाउँदै हामीले छात्रवृत्ति दिएर पढाएको मानिसहरू पनि थिए। रसुवाको अत्यन्तै दर्दनाक अवस्था देखेर मलाई सारै दुःख लागेको छ ।’
उनले रसुवाको जलविद्युत् करिडोरमा धेरै आयोजना रहेकाले त्यहाँको पूर्वाधार र जनजीवनमा विपद्को प्रभाव गम्भीर हुन सक्ने बताए। उक्त करिडोरले यसअघि पनि पटक–पटक विपद् व्यहोरेको उल्लेख गर्दै उनले जोखिम न्यूनीकरणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।
उनले भने, ‘त्यो करिडोरमा धेरै हाइड्रोपावर प्रोजेक्टहरू छन्। त्यो करिडोरले करिब पाँच पटक विपद् व्यहोर्न परेको रहेछ ।’








Comment