काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
NAIMA ले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
विपद्को सुरुवातदेखि नै NAIMA का सदस्य कम्पनीहरूले आर्थिक, यातायात तथा लजिस्टिक सहयोगलगायत विभिन्न माध्यमबाट उद्धार तथा राहत कार्यमा योगदान पुर्याउँदै आएको भन्दै संघले सदस्य संस्थाहरूको प्रशंसा गरेको छ।
NAIMA का अध्यक्ष ऋतु सिंह वैद्यले संघले आफ्नो स्थापनाकालदेखि नै विपद् तथा आपतकालीन अवस्थामा सरकार तथा प्रभावित समुदायलाई सहयोग गर्दै आएको बताउनुभयो।
उहाँले यस्तो कठिन समयमा सरकार र प्रभावित नागरिकलाई सहयोग गर्नु निजी क्षेत्रको पनि साझा दायित्व भएको बताउँदै सदस्य कम्पनीहरूले देखाएको सहयोग र सहकार्यप्रति धन्यवाद व्यक्त गर्नुभयो।
“यस्तो कठिन समयमा सरकार र प्रभावित नागरिकलाई सहयोग गर्नु निजी क्षेत्रको पनि साझा दायित्व हो। यस विपद्मा सहयोग र सहकार्यका लागि तत्परता देखाउनु भएका हाम्रा सम्पूर्ण सदस्य कम्पनीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। सरकार, निजी क्षेत्र र समुदायबीचको सहकार्यले नै राहत तथा पुनःस्थापनालाई प्रभावकारी बनाउन सक्छ,” अध्यक्ष वैद्यले भन्नुभयो।
खोज, उद्धार तथा राहत कार्यमा खटिरहेका सरकारी तथा सुरक्षा निकाय, स्वास्थ्यकर्मी, उद्धारकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा संघ–संस्थाप्रति NAIMA ले उच्च सम्मान व्यक्त गरेको छ।
संघले अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका सम्पूर्ण सरोकारवालालाई आफ्नो क्षमता र उपलब्ध स्रोतअनुसार बाढी प्रभावित नागरिकको सहयोगमा हातेमालो गर्नसमेत आग्रह गरेको छ।





Comment