बाढी तथा पहिरो प्रभावित क्षेत्रका ग्राहकलाई डिसहोम इन्टरनेटको १५ दिन निःशुल्क सेवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

बाढी तथा पहिरो प्रभावित क्षेत्रका ग्राहकलाई डिसहोम इन्टरनेटको १५ दिन निःशुल्क सेवा



काठमाडौँ । विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रका नागरिकहरूप्रति सहयोग र ऐक्यबद्धता जनाउँदै डिसहोमले आफ्ना ग्राहकहरूलाई प्रभावित अवधिभरका लागि १५ दिनको थप इन्टरनेट सेवा निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ। प्राकृतिक विपद्का कारण दैनिक जनजीवन प्रभावित भइरहेको र यस्तो अवस्थामा सूचना, सञ्चार तथा आपत्कालीन समन्वयमा इन्टरनेट सेवाको महत्वपूर्ण भूमिका हुने भएकाले उक्त राहत घोषणा गरिएको हो।

डिसहोम इन्टरनेटको पहुँच पुगेका त्रिशूली, त्रिशूली बट्टार, गल्छी, आदमघाट र मलेखु क्षेत्रमा यो निःशुल्क सेवा उपलब्ध हुनेछ। कम्पनीले विपद्को यस कठिन परिस्थितिमा आफ्ना ग्राहक तथा प्रभावित समुदायसँगै उभिँदै सेवाको निरन्तरता दिनु र सञ्चारमा सहजता प्रदान गर्नु आफ्नो सामाजिक उत्तरदायित्व भएको उल्लेख गरेको छ। साथै, प्रभावित ग्राहकहरूलाई यस विषम परिस्थितिमा धैर्यधारण गर्न आग्रह गर्दै सेवा तथा प्राविधिक सहयोगका लागि आधिकारिक ग्राहक सेवा माध्यममार्फत सम्पर्क राख्न अनुरोध गरिएको छ।

गत भदौ १० गते रसुवाको भोटेकोशी हुँदै तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएकोमा डिसहोम परिवारले गहिरो दुःख, सहानुभूति र पीडित परिवारजनप्रति ऐक्यबद्धता व्यक्त गरेको छ। यसका साथै, उद्धार, राहत तथा पुनस्थापना कार्यमा अहोरात्र खटिने सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायहरूप्रति कम्पनीले हार्दिक कृतज्ञता ज्ञापन गरेको छ।

प्रकाशित : 30 August, 2026 12:55 pm