काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ नाडा अटो शो २०२६ मा यसपटक ‘मेड इन नेपाल, मेड फर नेपाल’ पेभिलियन अवलोकनकर्ताको आकर्षणको केन्द्र बनेको छ।
गाडी, मोटरसाइकल तथा नयाँ प्रविधि हेर्न अटो शो पुग्ने अधिकांशको ध्यान ठूला अन्तर्राष्ट्रिय ब्रान्डका नयाँ मोडलतर्फ जाने गरे पनि यसपटक नेपाली उत्पादन र प्रविधिलाई केन्द्रमा राखिएको छुट्टै पेभिलियनले दर्शकको ध्यान खिचेको हो।
नाडाले पहिलोपटक ‘मेड इन नेपाल, मेड फर नेपाल’ अवधारणाअन्तर्गत छुट्टै पेभिलियन स्थापना गरी नेपालमै उत्पादन तथा एसेम्बल भइरहेका सवारीसाधन तथा अटोमोबाइल सामग्रीलाई प्राथमिकता दिएको छ। पेभिलियनमा नेपाली उद्योगले उत्पादन गरेका विद्युतीय मोटरसाइकल तथा स्कुटर, नेपालमा एसेम्बल भएका कार, अटोमोटिभ ब्याट्री, लुब्रिकेन्ट, हेल्मेट, टायर तथा विभिन्न अटोमोबाइल कम्पोनेन्ट राखिएका छन्।
नाडाका अनुसार उक्त पेभिलियनमा आठवटा स्टल रहेका छन्।
नेपालमै बनेका सवारीदेखि ब्याट्रीसम्म
पेभिलियनको मुख्य आकर्षण नेपालमा सवारीसाधन तथा अटोमोबाइल सामग्री उत्पादन र एसेम्बलिङको बढ्दो सम्भावना हो। यात्रीका विद्युतीय स्कुटर, नेपालमा एसेम्बल भएका मेटा इभी, हुन्डाईका सवारीसाधन तथा एसियन ब्याट्रिजका उत्पादनले नेपालमा अटोमोबाइल उद्योग विस्तार गर्न सकिने सम्भावना देखाएका छन्।
सवारी उत्पादनका लागि आवश्यक सबै सामग्री नेपालमै उत्पादन हुने अवस्था अझै बनिसकेको छैन। यद्यपि ब्याट्री, लुब्रिकेन्ट, हेल्मेट तथा विभिन्न कम्पोनेन्ट उत्पादनमा नेपाली उद्योगको उपस्थिति विस्तार हुँदै गएको छ।
त्यसैले ‘मेड इन नेपाल, मेड फर नेपाल’ पेभिलियन केवल नेपाली उत्पादनको प्रदर्शनी मात्र नभई नेपालको अटोमोबाइल उद्योग अहिले कहाँ पुगेको छ र आगामी दिनमा कता जान सक्छ भन्ने बुझ्ने अवसरका रूपमा पनि हेरिएको छ।
अटो शोमा विदेशी ब्रान्डका महँगा र आकर्षक गाडी अवलोकन गर्नेमात्र होइन, नेपालमै के–कस्ता सवारीसाधन तथा अटोमोबाइल सामग्री उत्पादन भइरहेका छन् भन्ने जानकारी लिन पनि सकिन्छ। परिवारसहित अटो शो पुग्ने अभिभावकका लागि बालबालिकालाई नेपाली उद्योग, प्रविधि, विद्युतीय सवारी तथा रोजगारी सिर्जनाका सम्भावनाबारे प्रत्यक्ष रूपमा बुझाउने अवसरसमेत बन्ने आयोजकको विश्वास छ।
नाडा अटो शोका संयोजक अनुप बरालका अनुसार यसपटक करिब तीन लाख वर्गफुट क्षेत्रमा २०० भन्दा बढी स्टल राखिएका छन्। प्रदर्शनीमा यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी कुल ५३ वटा सवारी ब्रान्ड सहभागी छन्।
त्यसैगरी बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, अटो पार्ट्स, टायर, लुब्रिकेन्ट, ग्यारेज उपकरण तथा अन्य अटोमोबाइलसम्बन्धी उत्पादनसमेत प्रदर्शनीमा राखिएका छन्।
नाडा अटो शो भदौ ९ गतेदेखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको छ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले परिवारसहित अटो शो घुम्न आउने दर्शकलाई विदेशी ब्रान्डका सवारीसाधनसँगै नेपालमै उत्पादन तथा एसेम्बल हुन थालेका सवारीसाधन र अटोमोबाइल सामग्रीको अवलोकन गर्न आग्रह गरेका छन्।
उनका अनुसार ‘मेड इन नेपाल’ पेभिलियन एउटा स्टलको अवलोकनमा मात्र सीमित छैन। यो नेपालको अटोमोबाइल उद्योगको वर्तमान अवस्था र भविष्यको सम्भावना बुझ्ने अवसर पनि हो।





Comment