काठमाडौ । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढी तथा देशका विभिन्न स्थानमा बाढी–पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक्सले रु. १ करोड सहयोग गर्ने घोषणा गरेको छ ।
कम्पनीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. १ करोड सहयोग गर्ने निर्णय गरेको जनाएको छ । विपद्को कठिन घडीमा प्रभावित परिवार तथा नागरिकको पीडा न्यूनीकरण गर्न तथा उद्धार, राहत र पुनःस्थापनाका कार्यमा सरकारसँग ऐक्यबद्धता जनाउँदै सहयोग घोषणा गरिएको कम्पनीले जनाएको हो ।
एक्स्ट्रिम इनर्जी ड्रिंक्सले बाढी–पहिरोबाट प्रभावित सम्पूर्ण नागरिकप्रति गहिरो समवेदना व्यक्त गर्दै विपद्का क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै, ज्यानको जोखिम मोलेर उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सरकारी र गैरसरकारी निकायप्रति कम्पनीले उच्च सम्मान व्यक्त गरेको छ ।
कम्पनीले सामाजिक उत्तरदायित्वलाई महत्वपूर्ण प्राथमिकताका रूपमा आत्मसात् गर्दै आएको जनाएको छ । राष्ट्रलाई आवश्यक परेको कठिन तथा संकटपूर्ण परिस्थितिमा नागरिक र समुदायको साथमा उभिँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि देश र नागरिकको हितमा आवश्यक सहयोग तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।


Comment