नाडा अटो शोमा डोङफेङ नामी बक्स ई२, २९ लाख ९९ हजारदेखि बुकिङ खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नाडा अटो शोमा डोङफेङ नामी बक्स ई२, २९ लाख ९९ हजारदेखि बुकिङ खुला



काठमाडौं । एमएडब्लू वृद्धि मोटर्सले नाडा अटो शो–२०२६ मा डोङफेङको नयाँ विद्युतीय कार नामी बक्स ई२ सार्वजनिक गर्दै बुकिङ तथा बिक्री सुरु गरेको छ। कम्पनीले बक्स ई२ लाई ३३० र ४३० गरी दुई भेरियन्टमा नेपाली बजारमा ल्याएको हो।

नाडा अटो शो अवधिभर बक्स ई२ ३३० को मूल्य २९ लाख ९९ हजार रुपैयाँ र बक्स ई२ ४३० को मूल्य ३१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। अटो शो सकिएपछि यी दुई भेरियन्टको मूल्य क्रमशः ३० लाख ९९ हजार र ३२ लाख ९९ हजार रुपैयाँ कायम हुने कम्पनीले जनाएको छ।

ग्राहकले सिल्भर तथा डुअल टोन कलर रोजेमा थप ५० हजार रुपैयाँ तिर्नुपर्नेछ।

नयाँ बक्स ई२ मा अघिल्लो मोडलको तुलनामा फिचर कन्फिगरेसनमा परिवर्तन गरिएको कम्पनीले जनाएको छ। प्रतिस्पर्धी मूल्य कायम गर्ने उद्देश्यले नयाँ संस्करणबाट लेभल–२ एडास, अटोमेटिक पार्किङ र एम्बियन्ट लाइटिङ हटाइएको छ।

यद्यपि, सुरक्षाका दृष्टिले गाडीमा ६ वटा एयरब्याग उपलब्ध छन्। त्यस्तै, डार्क मोड र इन–बिल्ट कारप्ले पनि दिइएको कम्पनीले जनाएको छ। नयाँ संस्करणले अघिल्लो नामी बक्सको डिजाइन, फराकिलो इन्टेरियर तथा आरामदायी यात्राको विशेषतालाई निरन्तरता दिएको कम्पनीको भनाइ छ।

रेन्जका हिसाबले बक्स ई२ ३३० ले एकपटक पूर्ण चार्जमा २३७ किलोमिटर डब्लुएलटीपी रेन्ज दिनेछ। त्यस्तै, बक्स ई२ ४३० ले ३१७ किलोमिटर डब्लुएलटीपी रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ।

सन् २०२४ मा नामी बक्स पहिलोपटक नेपाली बजारमा प्रवेश गरेको थियो। कम्पनीका अनुसार हालसम्म नेपालका सडकमा दुई हजारभन्दा बढी नामी विद्युतीय सवारीसाधन सञ्चालनमा छन्।

नाडा अटो शो–२०२६ मा ग्राहकले डोङफेङ नामीको स्टल नम्बर ए६ र ए७ मा नयाँ बक्स ई२ अवलोकन गर्नुका साथै बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ।

प्रकाशित : 26 August, 2026 10:24 pm