भोटेकोशी तथा त्रिशूली नदीको बाढीबाट भएको जनधनको क्षतिप्रति निर्यात व्यवसायी महासंघद्वारा गहिरो दुःख व्यक्त, उद्धार र राहतका लागि जोडदार माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

भोटेकोशी तथा त्रिशूली नदीको बाढीबाट भएको जनधनको क्षतिप्रति निर्यात व्यवसायी महासंघद्वारा गहिरो दुःख व्यक्त, उद्धार र राहतका लागि जोडदार माग



काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको घटनाप्रति निर्यात व्यवसायी महासंघ नेपाल (FEEN) ले गहिरो दुःख तथा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघका अध्यक्ष गोविन्द प्रसाद घिमिरेद्वारा जारी प्रेसवक्तव्य अनुसार, हालैको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका जिल्लाहरूमा कटान तथा डुबानको जोखिम तीव्र रूपमा बढ्दै गएको छ।

बाढीले जनधन, घर-सम्पत्ति तथा सार्वजनिक पूर्वाधारमा ठूलो असर पुर्‍याएको छ भने उद्योगी व्यवसायीहरूका पसल, गोदाम, उद्योग, कार्यालय, व्यापारिक संरचना तथा मौज्दातमा समेत गम्भीर क्षति पुर्‍याई समग्र व्यावसायिक गतिविधि नै प्रभावित बनेको महासंघले जनाएको छ। मृतकप्रति श्रद्धाञ्जली र प्रभावितहरूप्रति ऐक्यबद्धतायस विपद्को घडीमा बाढी तथा पहिरोमा परी ज्यान गुमाउनुहुने सम्पूर्णप्रति महासंघले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। साथै, घाइते तथा प्रभावित नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित उद्योग व्यवसायी तथा प्रतिष्ठानहरूप्रति पूर्ण सहानुभूति र ऐक्यबद्धता व्यक्त गरिएको छ।

उद्धार, राहत र पुनस्थापनाका लागि अपिलमहासंघले भोटेकोशी र त्रिशूली नदी आसपासका जोखिमयुक्त क्षेत्रमा तत्काल उद्धार तथा राहतका कार्यलाई तीव्रता दिन, सम्भावित जोखिममा रहेका नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा खाद्यान्न, औषधि, खानेपानी र अस्थायी आवासको यथाशीघ्र प्रबन्ध मिलाउन नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह र सम्बन्धित सुरक्षा निकायसँग जोडदार माग गरेको छ।

अन्त्यमा, महासंघले नागरिक समाज, सम्पूर्ण सदस्य उद्योगी व्यवसायी तथा संस्थाहरूलाई यस कठिन परिस्थितिमा मानवीय सहयोगका लागि एकजुट भई आ-आफ्नो सामर्थ्यअनुसार उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा सक्रियताका साथ जुट्न हार्दिक अपिल गरेको छ। निर्यात व्यवसायी महासंघ नेपाल संकटको यस घडीमा प्रभावित नागरिक, व्यवसायी तथा समुदायको साथमा दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित : 26 August, 2026 5:47 pm